नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदौ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन् ।
यसैगरी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० सङ्गम टोलबाट सोही स्थानका २३ वर्षीय घनश्याम बस्नेत, झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भद्रपुर नगरपालिका–७ का २३ वर्षीय सुवास राजवंशी पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिकाबाट चार जना, दाङको तुलसीपुर उपमहानगरपालिका–९ सल्लेवनबाट दुई जना र लमही नगरपालिका–५ सुनखोलीबाट एक जना पक्राउ परेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बाट लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ र नगदसहित शिवराज नगरपालिका–९ बानियाभारका २२ वर्षीय अर्जुन सुनारसमेत तीन जना पक्राउ परेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाइटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोलसहित धादिङको धुनीबेँसी नगरपालिका–२ का २९ वर्षीय सुरज लुइटेल र धरान उपमहानगरपालिका–१६ शमीचोकबाट सोही स्थानका २१ वर्षीय विदुर कार्कीलाई पक्राउ गरिएको छ ।

