भोजपुरमा कोदोखेती घट्दै

कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा थियो । पहाडी जनजीवनसँग गहिरो सम्बन्ध रहेको कोदो अहिले भने किसानको बारीबाट विस्तारै हराउँदै गएको छ ।

खेतीका लागि उपयुक्त जमिन र हावापानी भए पनि पछिल्लो समय भोजपुरमा यसको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कम आम्दानी, बढी मेहनत र बजारको अभावका कारण किसान अन्य बालीतर्फ आकर्षित हुन थालेका हुन् ।

टेम्केमैयुङ गाउँपालिका–६ कोटका किसान रामकुमार राईका अनुसार अहिले कोदोखेती घरायसी प्रयोजनमा सीमित हुँदै गएको छ ।

“कोदोखेती गरेर जीवन धान्नसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “गाउँघरमा पनि व्यावसायिक रूपमा कोदोखेती गर्ने चलन हराउँदै गएको छ । अहिले घरमा खानका लागि मात्र कोदो लगाउने गरिएको छ ।”

उहाँका अनुसार कोदोखेती गर्न अन्य बालीको तुलनामा बढी मेहनत गर्नुपर्छ तर आम्दानी भने कम हुन्छ । त्यसैले किसानले विस्तारै यो बाली छाड्दै गएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका किसान रुपनारायण फुयाँलले पनि पहिलेको तुलनामा कोदोखेती निकै घटेको बताउनुभयो । “पहिले धेरै किसानले कोदो लगाउँथे”, उहाँले भन्नुभयो, “अहिले उत्पादन पनि घटेको छ र खाने चलनसमेत कम हुँदै गएको छ ।”

स्थानीय बजारमा कोदो प्रतिकिलो रु १४० देखि १७० सम्ममा बिक्री हुने गरेको छ । तर मूल्य राम्रो भए पनि उत्पादन र बजारको निश्चितता नहुँदा किसानले यसलाई व्यावसायिक बालीका रूपमा लिन सकेका छैनन् । किसानका अनुसार कोदोको प्रयोग परम्परागत खानाभन्दा जाँड, रक्सी बनाउन बढी हुने गरेको छ ।

कोदो पौष्टिक अन्नका रूपमा चिनिन्छ । यसबाट ढिँडो, रोटी, सातु, लिटोलगायत विभिन्न परिकार बनाउन सकिन्छ । विशेषगरी चिसो मौसममा कोदोको खोले स्वास्थ्यका लागि उपयोगी मानिन्छ । तर आधुनिक खानपानको बढ्दो प्रभावसँगै कोदो खाने चलन पनि घट्दै गएको छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा करिब पाँच हजार हेक्टर जमिन कोदोखेतीका लागि उपयुक्त छ । तर पछिल्लो समय यसको खेती क्रमशः घटिरहेको छ । किसान नगदेबाली, तरकारी र फलफूलखेतीतर्फ आकर्षित भएपछि कोदोजस्ता परम्परागत बाली ओझेलमा पर्दै गएको केन्द्रले जनाएको छ ।

स्थानीय किसानका लागि कोदो केबल अन्न होइन, पहाडी जीवनशैली र संस्कृतिसँग जोडिएको बाली पनि हो । त्यसैले यसको खेती जोगाउन उत्पादनसँगै बजार सुनिश्चित गर्नुपर्ने किसानको माग छ ।

कोदोको उत्पादन घट्दै जाँदा गाउँघरको परम्परागत खानाको स्वाद मात्र हराउने होइन, स्थानीय बालीको विविधता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कृषि ज्ञानसमेत कमजोर हुने जोखिम बढेको छ ।

सम्बन्धित समाचार