नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ।

चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । अब विस्तारै मृत्यु भएका मानिस तथा जनवारको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैलाउन सक्ने भन्दै सतर्क रहन चिकित्सहरूले सबैलाई आग्रह गरेका हुन् ।
सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
बाढीपछि समय बित्दै जाँदा दूषित पानी, असुरक्षित खानपान, फोहरमैला तथा लामखुट्टेको वृद्धि हुने हुँदा सोही कारण विभिन्न प्रकारका सङ्क्रमण फैलिन सक्ने भन्दै उहाँले यसतर्फ सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।
“समय बित्दै जाँदा शवहरू कुहिने सम्भावना अत्यधिक रहन्छ । यसले सङ्क्रमणको जोखिम बढ्न सक्छ । दूषित पानी र असुरक्षित खानपानका कारण झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्छन् । ब्याक्टेरिया वा भाइरसबाट विभिन्न सङ्क्रमण हुनसक्छ”, डा पुनले भन्नुभयो ।
बाढीबाट बाँचेका तथा विस्थापित भएका नागरिकमा आगामी दिनमा झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्ने भएकाले यसतर्फ समयमै सबै सचेत बन्नुपर्ने उहाँको भनाइ छ ।
बाढीको पानी र त्यसपछि जम्मा भएको फोहर तथा दूषित पानी वातावरणमा मिसिएर ब्याक्टेरिया र भाइरसको सङ्क्रमण फैलिने जोखिम बढी हुने डा पुनले बताउनुभयो ।
बाढीका कारण विस्थापित परिवारलाई सुरक्षित खानपानको व्यवस्था गर्न चुनौती हुने भएकाले यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
“विस्थापित अवस्थामा खानपान व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन्छ । सुरक्षित पानी र खाना नपाउँदा झाडापखाला तथा टाइफाइडको जोखिम बढ्न सक्छ । पानी जम्ने ठाउँ बढेसँगै लामखुट्टे पनि बढ्न सक्छन् र सङ्क्रमणको जोखिम थपिन सक्छ”, उहाँले भन्नुभयो, “बाढीबाट प्रभावित मानिसले घर, सम्पत्ति र आफन्त गुमाएको अवस्थामा उहाँहरूलाई स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन आग्रह गर्नु व्यवहारिक रूपमा कठिन हुने भए पनि उपलब्ध स्रोतबाट सुरक्षित खानेपानी र सफा खानाको व्यवस्था गर्नु अत्यावश्यक छ ।”

