चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि हुम्लाको चङ्खेली गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेको छ ।

रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्मा परेका नागरिकको सहयोगका लागि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो ।

उहाँका अनुसार अध्यक्ष र उपाध्यक्षको मासिक सेवा सुविधाबाट १० दिन बराबरको रकम, वडाअध्यक्षबाट सात दिन, कार्यपालिका सदस्यबाट चार दिन र वडा सदस्यबाट दुई दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो ।

गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीबाट सङ्घीय सरकारले तोकेको मापदण्डअनुसार तलब तथा पारिश्रमिकबाट कट्टा हुने गरी उक्त कोषमा योगदान गर्नेछन् ।

चङ्खेली गाउँपालिका–१ का वीरबहादुर ऐडी, मञ्जित बुढा, दिनेश बुढा र तिल बुढा रसुवाको एक जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए । उनीहरूलाई सरकारले उद्धार गरी शिविरमा राखेको भए पनि घर फर्कन नसकेको पाइएको छ ।

उनीहरूलाई घरसम्म फर्काउन आवश्यक पर्ने गाडीभाडा तथा खाना खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने र खाद्यान्नलगायत अन्य राहत सामग्री उपलब्ध गराउन इच्छुक सङ्घसंस्थालाई सम्बन्धित वडा कार्यालयमार्फत समन्वय गरिनेछ ।

सम्बन्धित समाचार