नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै कञ्चनपुरका तीन पालिकामा भारी वर्षाको सम्भावना रहेकाले तयारी अवस्थामा रहन र सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले स–साना नदीहरुमा पानीको बहाव उलेख्य बढ्ने जोखिम कायम रहेको जनाएको छ ।

बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्याक्ति सुनिल चन्दले पालिका पूर्वतयारी अवस्थामा रहेको जानकारी दिनुभयो । “नगर प्रहरी, वडाध्यक्षलाई तयारी अवस्थामा रहन भनेका छौँ”, उहाँले भन्नुभयो, “आवश्यक सामग्री तयारी अवस्थामा राखेका छाँै ।”

दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पूर्वतयारी अवस्थामा रहेको जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सूचित गराउने र आवश्यक तयारी सुरु गर्न सूचना जारी गरेको छ ।

कञ्चनपुरमा आइतबार बिहानैदेखि अविरल वर्षा भइरहेको छ । महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा व्यारेजमा आवागमनमा रोक लगाएको छ । इलाका प्रहरी कार्यालय ड्डाचौकीका प्रमख जीवन गुरुङले  साँझ ५ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव प्रति सकेन्ड एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको छ ।

सम्बन्धित समाचार