मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा लालको निधन

मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ । उहाँको शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको हो ।

धनुषाको साविक देवडिहा गाविस–३, खिरखिरिया गाउँमा सन् १९४३ मार्च २ मा जन्मिनुभएका डा लालले करिब छ दशक मैथिली साहित्यको उन्नयनमा सक्रिय योगदान पुर्याउनुभएको थियो । मैथिली विषयमा विद्यावारिधि गर्नुभएका उहाँ नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारीसमेत हुनुहुन्थ्यो ।

साहित्यका विभिन्न विधामा कलम चलाउनुभएका डा लालले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रावृत्तान्त र लोकसाहित्यमा योगदान दिनुभएको थियो । उहाँको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती बन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो । त्यसयता उहाँ निरन्तर सिर्जना र साहित्यिक गतिविधिमा सक्रिय रहनुभयो ।

‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’, ‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ उहाँका चर्चित कृतिमा पर्छन् । ‘धनुषाधाम और मणिमण्डप’ उहाँको पर्यटनसम्बन्धी कृति हो । उहाँले मैथिली त्रैमासिक पत्रिका ‘नैमिकानन’ को सम्पादनसमेत गर्नुभएको थियो ।

डा लालका साहित्यिक रचनामध्ये केही विद्यालय तथा महाविद्यालयका पाठ्यक्रममा समावेश छन् । यसले उहाँको सिर्जनात्मक योगदानलाई साहित्यिक क्षेत्रभन्दा बाहिर शैक्षिक क्षेत्रमा समेत स्थापित गरेको देखिन्छ । साहित्यिक तथा सामाजिक गतिविधिमा उहाँको सक्रियता थियो । उहाँ विविधा मैथिली मञ्चका संस्थापक सचिव, मैथिली साहित्य परिषद्का सदस्य तथा मैथिली साहित्यकार सभाका सल्लाहकारका रूपमा आबद्ध रहनुभएको थियो ।

मैथिली साहित्यमा पुर्याउनुभएको योगदानको कदरस्वरूप डा लालले वैदेही प्रतिभा पुरस्कार, त्रिमूर्ति पुरस्कार, मिथिला रत्न, ज्योतिरीश्वर साहित्य सम्मान तथा नेपाल सरकारको प्रादेशिक प्रतिभा पुरस्कारलगायतका सम्मान प्राप्त गर्नुभएको थियो ।

डा लालको निधनले मैथिली साहित्यमा लामो समयदेखि सक्रिय एक अनुभवी स्रष्टा, समालोचक र साहित्यिक अभियन्ताको अभाव भएको साहित्यप्रेमीहरूले बताएका छन् । विशेषगरी मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको योगदानलाई साहित्यिक वृत्तले महत्त्वपूर्ण मान्दै आएको छ ।

सम्बन्धित समाचार