विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको समयमा सबै एकताबद्ध भएर उभिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला कार्यसमितिले सोमबार साँझ बौद्धनाथ स्तूपामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्ने बताउनुभएको हो ।

उहाँले देश अहिले गहिरो प्राकृतिक विपत्ति र सङ्कटको घडीबाट गुज्रिरहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले यस कठिन परिस्थितिमा सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले बेपत्ता भएकाको खोजी, उद्धार तथा प्रभावितको पुनस्र्थापनामा सरकार गम्भीरतापूर्वक लागि परेको प्रस्ट पार्नुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठले बाढीमा परी जीवन गुमाउने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

सरकारले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निधन भएका नागरिकको सम्मानस्वरुप सोमबार राष्ट्रिय शोक मनाएको छ ।

सम्बन्धित समाचार