गुमेको दृष्टि फर्किँदा…

लामो समयदेखि दृष्टि गुमाएका कपिलवस्तुको महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी हुनुभयो ।

यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु देखिएपछि नगरपालिकाले उपलब्ध गराएको यातायातमार्फत उहाँ आधारभूत अस्पताल पुग्नुभएको थियो ।

शल्यक्रियापछि आँखाको पट्टी खोल्दा पुनः दृष्टि फर्किदा ७० वर्षीय चौधरी अत्यन्त हर्षित देखिनुहुन्थ्यो । उहाँले भन्नुभयो “मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको छु । यो भन्दा अरु खुसी के हुन सक्छ । विगतमा आँखा उपचार गर्न भारत जानुपर्दथ्यो । अहिले आगनमै सेवा पाउन थालिएको छ । त्यो पनि पैसा पर्दैन । ”

त्यस्तै, महाराजगन्ज –१ की ६५ वर्षीया राधा कोरीले पनि गुमेको दृष्टि फर्किएपछि खुसी व्यक्त गर्नुभयो । लामो समयदेखि पुनः आँखा देख्न पाउने आशा हराइसकेको बताउँदै उहाँले शल्यक्रियापछि पुनः उज्यालो भएकोमा खुसी लागेको बताउनुभयो ।

महाराजगन्ज नगरपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट डेढ सयभन्दा बढी ज्येष्ठ नागरिक तथा विपन्न नागरिकको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

एटलस एलाइन्स नर्वेको आर्थिक सहयोग तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक समन्वयमा नगरपालिकाको आधारभूत अस्पतालमा सो शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा बिरामीको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सँगै औषधि र कालो चस्मासमेत उपलब्ध वितरण थियो । शिविरमा आएका बिरामीका लागि खाना, बसोबास तथा यातायातको समेत निःशुल्क व्यवस्था गरेको थियो ।

शल्यक्रिया शिविर सञ्चालन गर्नुअघि नगरपालिकाका वडा नं. २, ३, ४ र ११ मा एक ÷एक दिने प्रारम्भिक आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

ती शिविरमा १८५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जैसवालले जानकारी दिनुभयो । पहिचान भएका बिरामीमध्ये छनोट गरिएका डेढ सयभन्दा बढीको आधारभूत अस्पतालमा शल्यक्रिया गरिएको हो ।

नगरप्रमुख अब्दुल कलाम खाँले ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित गरी नगरभित्रै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो । नगरवासीसँग गरेको प्रतिबद्धताअनुसार स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

नगरप्रमुख खाँका अनुसार विसं २०७४ देखि नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । हालसम्म नगरपालिकाभित्र १० हजारभन्दा बढीको आँखा शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

शल्यक्रियापछि नगरप्रमुख खाँ, उपप्रमुख रीताकुमारी चौधरी (कुर्मी) तथा वडा नं १ का वडाध्यक्ष प्रमोद चौधरीलगायतले बिरामीलाई कालो चस्मा वितरण गर्नुभएको थियो ।

उपप्रमुख चौधरीले नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको नीतिअनुसार विगतदेखि नै निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

सम्बन्धित समाचार