नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ।

विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ ।
सो पुस्तकको उद्योगपति विनोद चौधरी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, पूर्वन्यायाधीश एवं साइबर कानुनका जानकार डा श्रीकृष्ण भट्टराईले ‘डिजिटल’ रूपमा लोकर्पण गर्नुभयो ।
पुस्तकमा नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार र फेरिएको विज्ञापन संस्कारलगायत विषय समेटिएको छ । त्यस्तै नेपालमा आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा पुस्तकमा प्रस्तुत छ ।
नेपाल विज्ञापन एजेन्सी व्यवसायी सङ्घको अध्यक्षसमेत रहनुभएका पौडेलले पुस्तकमा व्यावसायिक आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा भोग्नुपरेका सफलता, असफताका विषय पनि समेट्नुभएको छ ।
लेखक पौडेलले विज्ञापन क्षेत्रमा नयाँपन ल्याउने आफ्नो प्रयाससँगै आफूले जाने भोगेका विषयवस्तुलाई सार्वजनिक गरी नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रमा लागिरहेका र यस क्षेत्रमा लाग्ने आगामी पुस्ताले हासिल गर्नुपर्ने ज्ञानका कुरालाई पनि पुस्तकमा सकेसम्म समेटेको बताउनुभयो । करिब छ सयभन्दा बढी विज्ञापन निर्माण गरेका अनुभव र पछिल्लो समयमा फेरिएको विज्ञापन शैलीका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ ।
उद्योगपति चौधरीले पुस्तक विज्ञापन क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका लागि इतिहासको अध्ययन, मार्गदर्शन र प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।
सञ्चार उद्यमी राजकर्णिकारले सो पुस्तकले विज्ञापन एजेन्सी, विज्ञापनदाता, सञ्चारमाध्यम र सरकारी नीतिनियमबीचको अन्तरसम्बन्धलाई सैद्धान्तिक र व्यावहारिक दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरेको बताउनुभयो ।
पूर्वन्यायाधीश भट्टराईले विज्ञापनको परम्परागत शैलीबाट डिजिटल रुपमान्तरणसम्मको यात्रालाई पुस्तकमा सूक्ष्म रुपमा केलाएको जनाउनुभयो ।

