राजेनको कुशको शव बनाइ अन्तिम संस्कार

राजेन आचार्यको कुशको प्रतिकात्मक शव बनाइ दाहसंस्कार गरिएको छ । भदौ १० गतेको भोटेकोशी बाढीपछि उहाँ परिवारको सम्पर्कमा नआएपछि परिवारले अन्ततः १९ दिनपछि कुशको शव बनाएर आइतबार अन्तिम संस्कार गरेको हो ।

“की सास, की लास आउला भन्ने आशामा यत्रो दिनसम्म कुरेर बस्यौँ । कतै जीउँदै पो छ की भन्ने आशा थियो । तर, केही पत्ता लागेन”, भोटेकोशी बाढीमा बेपत्ता भएको १९ दिनपछि राजेनका माइला दाजु दीपक आचार्यले भारी मनले भन्नुभयो । आफ्नै आँखाले अन्तिमपटक अनुहारसमेत हेर्न नपाएका परिवारले कुशलाई छोरा सम्झेर अन्तिम संस्कार गर्नुपरेको उहाँले बताउनुभयो ।

भदौ १० गते बिहान रसुवामा आएको बाढीपछि झापाको बिर्तामोड नगरपालिका–३ विर्ताबजारका ५२ वर्षीय राजेन सम्पर्कविहीन हुनुभएको थियो । खोजीका क्रममा उहाँको सास वा लास केही फेला नपरेपछि परिवारले परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको हो ।

७९ वर्षीय पिता शान्तिराम आचार्य र ७५ वर्षीया आमा रोहिणीदेवी आचार्यका पाँच सन्तानमध्ये राजेन कान्छा छोरा हुनुहुन्थ्यो । उहाँका दुई दाजु र दुई दिदी छन् । श्रीमती तारा खतिवडा आचार्य र २३ वर्षीया छोरी प्रज्ञा हुनुहुन्छ । प्रज्ञा स्नातक चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

भारी मन लिएर ७९ वर्षीय पिता शान्तिराम आइतबार छोराको प्रतीकात्मक शव बोकेर कन्काइ माइ नदीको घाटसम्म पुग्नुभयो । वृद्ध आमा रोहिणीदेवी भने अन्तिम संस्कारमा सहभागी हुन सक्नुभएन ।

सन्तानको अवस्थाबारे बेखबर हुँदा आमाबाबुको मनमा कति पीडा हुन्छ होला, कति आँसु झर्छ होला । परिवारको सहारा बनेका आफ्ना सन्तान अचानक सम्पर्कविहीन हुँदा उनीहरू फर्किने आशामा दिन काट्नुको पीडा शब्दमा व्यक्त गर्न कठिन हुन्छ ।

राजेनको परिवारले १९ दिनसम्म यही पीडा र प्रतीक्षाबीच उहाँ फर्किने आशा पालेर बसेको थियो । “बुबाले मन दह्रो बनाएर अन्तिम संस्कारमा जानुभयो । आमालाई त त्यहाँसम्म लैजान पनि सक्ने अवस्था थिएन । सबैको मनमा राजेन जीउँदै फर्किन्छ की भन्ने आशा थियो ।

लाससमेत नदेखेपछि यो विधि पूरा गर्नुपर्ने अवस्था आयो”, दीपकले भन्नुभयो । राजेन तीन महिनाअघि मात्र स्याफ्रुबेँसी–लाङटाङ हाइड्रोपावर २० मेगावाटको कार्यालयमा कर्मचारीका रूपमा कार्यरत हुनुभएको थियो ।

परिवारका अनुसार, घटना हुनुभन्दा करिब एक साता अघि उहाँ झापा आउनुभएको थियो । झापाबाट आफ्नो कार्यक्षेत्र फर्किएको पाँच दिनमै रसुवागढी क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा उहाँ बेपत्ता हुनुभएको हो ।

बाढीपछि परिवारले उहाँ सुरुङभित्र वा अन्य कुनै स्थानमा फसेर जीवितै रहेको हुनसक्ने आशा गरेको थियो । राज्यका विभिन्न संयन्त्रबाट खोजी कार्य जारी रहे पनि १९ दिनसम्म कुनै सकारात्मक परिणाम नआएपछि परिवारले अन्तिम संस्कारको निर्णय गरेको हो ।

राजेनको अन्तिम संस्कार गरिए पनि परिवारको मनबाट उहाँ जीउँदै फर्किने आशा भने पूर्णरूपमा हटिसकेको छैन । श्रीमती तारा, छोरी प्रज्ञा र वृद्ध पिता शान्तिरामले परम्पराअनुसार १३ दिनसम्म मृत्यु कर्म गर्ने भएका छन् । “

अन्तिम संस्कार गरिसकेपछि पनि मनले मानिरहेको छैन । कतैबाट राजेन जीउँदै फर्किएर आउलान् कि भन्ने आशा अझै छ”, दीपकले भन्नुभयो, “आफ्नो मान्छेको अनुहारसमेत हेर्न नपाई कुशलाई छोरा सम्झेर अन्तिम संस्कार गर्नुपर्दाको पीडा शब्दमा भन्न सकिँदैन ।”

प्रहरीका अनुसार, भोटेकोशी बाढीमा विभिन्न जलविद्युत् आयोजना तथा निर्माण कम्पनीमा कार्यरत झापाका विभिन्न स्थानका १५ जना सम्पर्कविहीन छन् ।

दमक नगरपालिका–१० का देवलाल मुर्म सतार परिवारको सम्पर्कमा आइसकेका छन् भने अन्यको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले बताउनुभयो ।

सम्पर्कविहीनमध्ये बुद्धशान्ति गाउँपालिका–२ का एकै परिवारका राजकुमार दियाली, उहाँकी श्रीमती श्रुति दियाली र चार वर्षीय छोरा श्रीराज दियालीसमेत छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा केही अपर त्रिशूली जलविद्युत् आयोजना तथा केही अन्य जलविद्युत् आयोजना र निर्माण कम्पनीमा कार्यरत थिए ।

बाढीपछि सम्पर्कविहीन भएका उनीहरूको खोजी जारी रहँदा परिवारका सदस्य आफ्ना प्रियजन जीवितै फेला पर्ने आशामा बाटो हेरिरहेका छन् । बाढीले आफन्तको वेखबर बनाएका यी परिवारका लागि हरेक दिन प्रतीक्षाकै दिन बनेको छ ।

सम्बन्धित समाचार