नवकान्तिपुर संवाददाता
काठमाडौँ, ३० भदौ l

प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय कूटनीतिक पहल आवश्यक रहेको बताउनुभएको छ ।
सांसद युवराज दुलालले अन्तर्राष्ट्रिय कूटनीति र राष्ट्रिय एकता कायम गर्दै विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणको काम अघि बढाउन सरकारसँग माग गर्नुभयो । रसुवागढी नाका भोटेकोशी बाढीका कारण प्रभावित भएपछि चीनसँगको व्यापारिक आवागमन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
“भोटेकोशी बाढीले सामान बगाएपछि व्यापारीको ठूलो क्षति भएको छ । महँगी बढेको छ, खाना पकाउने ग्यासको अभाव छ । महँगीको मार गरिबको चुलोमा परेको छ”, सांसद दुलालले भन्नुभयो, “आपूर्ति सहज बनाउन तातोपानी नाका खोल्न सरकारले आवश्यक कूटनीतिक पहल गर्नुपर्नुपर्छ ।”
सांसद आर्यन राईले भोटेकोशीको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्यमा ढिलाइ हुँदा मानवीय क्षति बढेको बताउनुभयो । उहाँले हाँकुबेँसी क्षेत्रमा सुरुङभित्र रहेका करिब ३०० जना बेपत्ता भएको उल्लेख गर्दै समयमै उद्धार हुन नसक्दा ठूलो क्षति भएको बताउनुभयो । चिलिमे हाइड्रोपावरलगायत विभिन्न जिल्लाका जलविद्युत् आयोजनामा फसेका व्यक्तिको समयमा उद्धार हुन नसक्दा धेरैको ज्यान गएको उहाँको भनाइ छ । सांसद राईले आगामी दिनमा उद्धारमा खटिने सुरक्षाकर्मी तथा अन्य जनशक्तिको सुरक्षालाई समेत उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिनुभयो ।
सांसद खुश्बु ओलीले तराई–मधेसमा हुने धार्मिक द्वन्द्व तथा त्यसबाट उत्पन्न तनाव कम गर्न सरकार र सम्बन्धित पक्षले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । उहाँले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद गजाला शमीम मिकरानीले विकसित मुलुकले लामो समयदेखि गरेको हरितगृह ग्यास उत्सर्जनका कारण नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको असर भोग्नुपरेको बताउनुभयो । उहाँले जलवायुजन्य हानि तथा नोक्सानी सम्बोधन गर्न कोष स्थापना मात्रै पर्याप्त नहुने उल्लेख गर्दै विकसित मुलुकलाई कार्बन उत्सर्जन घटाउन दबाब दिनुपर्ने बताउनुभयो । नवीकरणीय ऊर्जामा लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले बलियो आवाज उठाउनुपर्ने उहाँको भनाइ थियो ।
सांसद प्रकाशसिंह कार्कीले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिँदै निजी क्षेत्रलाई अर्थतन्त्रको आधार बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
सांसद एशुदाकुमारी बरालले कर्णाली राजमार्गमा सडक दुर्घटना हुने क्रम नरोकिएको भन्दै सडक सुधार तथा सुरक्षाका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । कर्णालीमा विद्युत्को नाङ्गो तारका कारण नागरिकको ज्यान जाने गरेको उल्लेख गर्दै उहाँले विद्युत् संरचनालाई सुरक्षित बनाउन तथा कर्णालीका सबै क्षेत्रमा विद्युतको पहुँच विस्तार गर्न सरकारसँग आग्रह गर्नुभयो ।

