प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले नेपालले जापानका समकक्षी सानाए ताकाइची र परराष्ट्रमन्त्री तोशिमित्सु मोतेगीले रसुवाका बाढीपीडितप्रति देखाउनुभएको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा समवेदनाका लागि धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

उहाँले जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि पनि धन्यवाद ज्ञापन गर्नुभयो । जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले जापानसँग विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा समेत सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राजदूत तोरुले जापान सरकारले नेपाललाई विपद् प्रभावितको पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

साथै, उहाँले नेपालमा बाढी तथा यस्ता विपदहरुको उच्च जोखिम रहेको उल्लेख गर्दै यसका कारण तथा क्षतिका बारेमा थप वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको विषयमा जोड दिनुभयो ।

राजदूत तोरुले नेपाल–जापानबीच आपसी सम्बन्धका विविध आयामहरूमा रहिआएको उल्लेख गर्दै सहकार्यका साथै पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र शिक्षा क्षेत्रको सुधारलगायत विषयमा आफ्ना धारणा राख्नुभएको थियो । जापान लामो समयदेखि नेपालको विकासको साझेदार रहँदै आएको छ ।

सम्बन्धित समाचार