डिजिटल नक्साङ्कनमा कामपाको फड्को

काठमाडौँ महानगरपालिकाले हालसम्ममा दुई लाख १० हजार ९७६ भवन र एक हजार ३४० किलोमिटर सडकको डिजिटल नक्साङ्कन सम्पन्न गरेको छ ।

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार एक हजार ३४० किलोमिटर सडकको नक्साङ्कन गरी दुई हजार ८०० भन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जिआइएस डाटाबेसमा प्रविष्ट गरिसकिएको बताउनुभयो ।

त्यस्तै, २५ हजार १९ वटा भवनको प्रमाणीकरण गरिएको छ । विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदास्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जिआइए अभिलेख निर्माण गरिसकिएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिनुभयो ।

कामपा क्षेत्रभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गर्ने प्रक्रिया अघि बढाउने भूउपयोग परिषदले निर्णयसमेत गरिसकेको छ ।

भूउपयोग ऐन २०७६, भूउपयोग नियमावली २०७९ तथा सम्बन्धित निर्देशिका र मापदण्डअनुसार अद्यावधिक आधार तथा मापदण्डका आधारमा गरिन्छ । यसअन्तर्गत विवरण तयार गर्ने, उपलब्ध नक्सा तथा तथ्याङ्क अद्यावधिक गर्ने र महानगर क्षेत्रभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गरिन्छ ।

भूउपयोग तथा भूमि व्यवस्थापनसम्बन्धी कामलाई एकीकृत बनाउन कामपाले हाललाई अस्थायी ‘भू–सूचना तथा भूमि व्यवस्थापन एकाइ’ गठन गर्ने भएको छ ।

भूउपयोग वर्गीकरणमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वलगायत क्षेत्र समेटिनेछन् । आवश्यकताअनुसार अन्य क्षेत्रसमेत तोक्न सकिने कानुनी व्यवस्था छ ।

कामपाको घरधुरी सर्वेक्षणका लागि सम्पूर्ण क्षेत्रमा ड्रोन तथा डिजिपीएस सर्वेक्षण गरी लेयर डिजिटाइजेसन तथा म्यापिङको काम भइसकेको छ । अब ३२ वडाबाट भूसेवा सञ्चालन गरी केन्द्रबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने लक्ष्य कामपाले अघि सारेको छ ।

भूउपयोग वर्गीकरणको अन्तिम प्रक्रियामा नापी विभागबाट प्राप्त नक्सा तथा तथ्याङ्कको अध्ययन, जनप्रतिनिधिलाई जानकारी, आधार तथा मापदण्ड तयारी, सरोकारवालासँग छलफल, भूउपयोग उपक्षेत्रमा वर्गीकरण, नक्सा तयार तथा स्वीकृति र अन्तिम कित्तागत विवरण सार्वजनिक गर्ने काम हुनेछ ।

स्वीकृत नक्सा तथा कित्तागत विवरण कामपाको वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्ने तथा सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाउने प्रक्रिया हुनेछ ।

सम्बन्धित समाचार