नवकान्तिपुर संवाददाता
जनकपुरधाम, ४ असोज।

पछिल्लो समय मधेस प्रदेशका जिल्लामा आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको अवधिमा मधेसका विभिन्न जिल्लामा गरी २५० जनाले आत्महत्या गरेका छन् ।
अधिकांशले झुण्डिएर र विष सेवनलाई आत्महत्याको माध्यम बनाउँदै आएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालु आव २०८३/८४ को साउनमा ८८ र भदौमा १६२ गरी दुई महिनाको अवधिमा २५० जनाले आत्महत्या गरेका मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो अविधमा सबैभन्दा बढी सिरहा र बारामा ४६/४६, सप्तरीमा ३९, रौतहटमा ३०, धनुषा र महोत्तरीमा २४/२४, सर्लाहीमा २१ र पर्सामा २० जनाले आत्महत्या गरेका छन् ।
यसरी अत्यधिक वृद्धि भएको आत्महत्याको ठोस कारण यकिन गर्न नसकेपनि घरायसी विवाद, पे्रममा असफलता, गरिबी, बेरोजगारी र जीवनको दुःख कष्ट सहन नसकेरलगायत रहेका बुद्धिजीवीहरू बताउँछन् । उमेरको हिसाबले १६ वर्ष मुनिदेखि ७० वर्षसम्मका वृद्धवृद्धाले आत्महत्या गर्दै आएका छन् ।
आत्महत्या गर्नेहरूमा १८ वर्षदेखि ४० वर्षबीचको सङ्ख्या बढी रहेको प्रहरी वरिष्ठ उपरीक्षक ढकालले बताउनुभयो । त्यस्तै, पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने गरेका उहाँको भनाइ छ ।
महिलामाथि हिंसा बढी हुने गरेकाले पनि पुरुषको तुलनामा बढी आत्महत्या गर्ने गरेका महिला अधिकारकर्मी सरस्वती मण्डलले बताउनुभयो । “आत्महत्या गर्नेमा सामान्य आर्थिक अवस्थाका व्यक्ति बढी छन् । यसपछि न्यून आय भएका व्यक्तिको संलग्नता पाइँदैन”, उहाँले भन्नुभयो ।
अधिकांशले झुण्डिएर र विष खाएर आत्महत्या गर्ने गरेका भन्दै प्रहरी वरिष्ठ उपरीक्षक ढकालले केहीले हाम फालेर आत्महत्या गर्ने गरेका उल्लेख गर्नुभयो । यसरी सामान्य विवादमा पनि विष खाएर आत्महत्या गर्ने प्रवृत्ति समाजका लागि चुनौतीको विषय बनेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।
स्थानीय बुद्धिजिवी एवं नागरिक समाजका अगुवा रामकुमार साहले भन्नुभयो, “यस किसिमको अपराधको विषयमा समाजका सबै पक्ष गम्भीर बनेर समस्या समाधानमा एकजुट हुनुपर्छ ।
नभए यो समाजका लागि ठूलो चुनौतीको रूपमा खडा हुन सक्छ ।” सबै पक्षले यसलाई गम्भीर रूपमा लिई मनोसमाजिक परामर्श तथा मनोचिकित्सक सेवा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
