नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत बजारशास्त्र विषय समितिले आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी समितिका निवर्तमान अध्यक्ष प्राडा भोजराज अर्याललाई अभिनन्दनसहित भव्य विदाइ गरेको छ भने सोही कार्यक्रममा बजारशास्त्र विषय समितिका नवनियुक्त अध्यक्ष सह–प्राध्यापक डा.गोपाल थापालाई स्वागत पनि गरेको छ ।
व्यवस्थापन संकायका पूर्वडीन प्राडा गोविन्दप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन बजारशास्त्र विषय समितिका पूर्वअध्यक्ष प्राडा बगला बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा व्यवस्थापन संकायका सहायक डीन डा.भरत राई, व्यवस्थापन केन्द्रीय विभागका बजारशास्त्र शिक्षण समितिका अध्यक्ष डा. सुशील अवाले, सह–प्रा सन्तोषकुमार घिमिरे, शंकरदेव क्याम्पसका सह–प्राडा सजीवकुमार श्रेष्ठ, उप–प्रा श्रीमती मीखा श्रेष्ठ, पदमकन्या क्याम्पसका उप–प्रा श्रीमती कल्पना घिमिरे, बजारशास्त्र विषय समितिका पूर्वसदस्यहरू ईश्वरराज लोहनी र नीरा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वडीन प्राडा आचार्यले आफ्नो मन्तव्यको क्रममा प्राडा अर्यालको योगदान र उहाँको कार्यकालको मिठो स्मरण गर्नुभएको थियो । उहाँले नवनियुक्त अध्यक्ष सह–प्राडा थापालाई आगामी दिनहरूमा गर्नुपर्ने कामका लागि आवश्यक सल्लाह–सुझाव दिँदै कार्यकालको सफलताको कामनासमेत गर्नुभएको थियो । मन्तव्यको क्रममा उहाँले आफू पनि कुनै बेला बजारशास्त्रकै शिक्षक रहेको बताउँदै आफ्ना प्रेरणादायी अनुभवहरू बाँड्नुभएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्राडा भोजराज अर्यालले त्रिवि सेवामा रहँदा आफूले गरेका÷भोगेका अनुभवहरूको सविस्तार वर्णन गर्दै सबैबाट हार्दिक सहयोग र सद्भाव पाएर नै आफ्नो कार्यकाल सफल भएको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि बजारशास्त्र विषयको अवसर र चुनौतीका बारेमा आ–आफ्नो धारणा र अनुभव राख्नुभएको थियो । उहाँहरूले निवर्तमान अध्यक्ष अर्यालको शालीन र सरल व्यक्तित्वको चर्चा गर्दै नवनियुक्त अध्यक्ष सह–प्राडा थापालाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नवनियुक्त अध्यक्ष डा. थापाले पनि सबैबाट आफूलाई आवश्यक सहयोग प्राप्त हुने आशा व्यक्त गर्दै सबैको सहयोगमा बजारशास्त्र विषय समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल कमर्स क्याम्पसमा विगत २७ वर्षदेखि बजारशास्त्र प्राध्यापन गर्दै आउनुभएका नवनियुक्त अध्यक्ष डा.गोपाल थापा नेप्लिज मार्केटिङ एशोसिएशनका उपाध्यक्षसमेत हुनुहुन्छ । उहाँका दर्जनौ पुस्तक तथा अनुसन्धानमूलक कृतिहरू प्रकाशित छन् ।

