आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन

काठमाडौँको मुटु हात्तीसार । चक्रपथको कोलाहलभन्दा केहीभित्र तर नेपाली चलचित्र इतिहासको केन्द्रबिन्दुमा ठिङ्ग उभिएको एउटा भवन र प्रशस्त प्राङ्गण । यो केबल इँटा, सिमेन्ट र फलामको संरचना मात्र होइन, बरु काठमाडौँको सिने संस्कृति, आधुनिकता र झण्डै एक शताब्दी लामो इतिहासको साक्षी हो। यो हो जय नेपाल सिनेमा हल ।

जब कोरोना महामारीको दोस्रो लहर र मल्टिप्लेक्सको तीव्र लहरका बीच २०७८ असोज ४ मा जय नेपाल हलको पर्दा हठात् बन्द भयो, धेरैले सोचेका थिए, अब नेपालकै सबैभन्दा जेठो र ऐतिहासिक सिनेमा हलको एउटा स्वर्णिम अध्याय सधैँका लागि समाप्त भयो । करिब ५५ महिनासम्म सुनसान रहेको त्यो भवनको ठाउँमा कुनै गगनचुम्बी व्यापारिक कम्प्लेक्स वा अपार्टमेन्ट बन्ने चर्चा पनि नचलेको होइन ।

तर, इतिहास सधैँ मेटिनका लागि मात्र लेखिँदैन, कतिपय इतिहास जीवन्त रहनका लागि पुनर्जीवित पनि हुन्छन् । ठ्याक्कै त्यस्तै भयो, १८ वैशाख २०८३ मा । झण्डै साढे चार वर्षको लामो मौनतालाई तोड्दै जय नेपाल हल फेरि एकपटक आधुनिक, भव्य र प्राविधिक रूपमा विश्वस्तरीय स्वरूपमा ब्युँतिएको छ ।

यो पुनरागमनको सारथी बनेको छ, एउटा जुझारु टिम, जसको नेतृत्व सञ्चालक समितिका अध्यक्ष सञ्जय श्रेष्ठले गरिरहनुभएको छ । व्यापारिक नाफाभन्दा आफ्नो माटोको इतिहास र भावनात्मक सम्बन्धलाई माथि राखेर गरिएको यो करिब १५ करोडको पुनरुत्थानको कथा आफैँमा एउटा रोचक र प्रेरणादायी छ ।

अशोक राणादेखि नयाँ पुस्तासम्म

जय नेपाल हलको इतिहास खोतल्दै जाँदा २००९ साल (सन् १९५२) मा पुग्नुपर्ने हुन्छ । नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय भइसकेको त्यो सङ्क्रमणकालीन समयमा कला र मनोरञ्जनको एउटा नयाँ केन्द्रको आवश्यकता थियो । तत्कालीन समयमा सम्भ्रान्त राणा परिवारका सदस्य अशोक राणाले हात्तीसारको आफ्नै जग्गामा यो हलको स्थापना गरेका थिए ।

सुरुआती दिनमा यहाँ हिन्दी चलचित्र ‘श्री गणेश महिमा’ प्रदर्शन गरिएको थियो । काठमाडौँवासीका लागि हलमा छिरेर ठूलो पर्दामा गुडिरहेका मान्छे र गुडिरहेका गाडी हेर्नु कुनै जादुभन्दा कम थिएन । लामो समयसम्म अशोक राणा आफैँले यसको व्यवस्थापन सम्हाले ।

नेपालमा सिनेमा संस्कृति संस्थागत हुँदै गर्दा विसं २०२२ सालमा निर्माण भएको नेपालको पहिलो ऐतिहासिक चलचित्र ‘आमा’ पनि यही जय नेपाल हलमा भव्य रूपमा प्रदर्शन गरिएको थियो । यसरी हेर्दा नेपाली सिनेमाको बाल्यकाल, युवावस्था र आजको आधुनिक कालखण्डको हरेक उतारचढावलाई यो हलले नजिकबाट नियालेको छ ।

राणा परिवारपछि यस हलको सञ्चालनको जिम्मेवारी चर्चित व्यवसायी निर्मल प्रधानको हातमा पुग्यो । समय परिवर्तनशील थियो, २१औँ शताब्दीको सुरुआतसँगै विश्व सिनेमामा प्रविधिको ठूलो फड्को मार्न लागिरहेको थियो । त्यही मोडमा सन् २००१ मा नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन ‘क्युएफएक्स सिनेमाज’ (टिम क्वेस्ट)ले यस हलको व्यवस्थापन आफ्नो हातमा लियो ।

करिब एक वर्ष लगाएर हलको पुनर्निर्माण गरियो र सन् २००२ मा नयाँ प्रविधि र सुविधासहित यसलाई पुनःसञ्चालन गरियो । वास्तवमा आज नेपालभर फैलिएको प्रतिष्ठित ‘क्युएफएक्स’ ब्रान्डको जन्म र पहिलो पाइला यही जय नेपाल हलबाटै सुरु भएको थियो ।

क्युएफएक्सले झण्डै २० वर्ष यस हललाई सफलतापूर्वक चलायो । तर, समय सधैँ एकैनास रहेन । दर्शक सपिङ मलभित्रका बहु–स्क्रिन (मल्टिप्लेक्स) तिर आकर्षित हुन थालेपछि एकल स्क्रिन भएका हलहरू ओझेलमा पर्न थाले । त्यसमाथि कोरोना महामारीको मारले हललाई थला नै पारिदियो ।

फलतः राणा परिवारका तीन दाजुभाइको स्वामित्वमा रहेको यो हल भवनमा चाबी लाग्यो । तर, ५५ महिनापछि एउटा नयाँ बिहानी आयो । सञ्जय श्रेष्ठ (अध्यक्ष), रुपेश श्रेष्ठ (प्रबन्ध निर्देशक) र हरिकृष्ण लोहला (बोर्ड निर्देशक) सहितको युवा टिमले यसको विरासतलाई थाम्न अगाडि स¥यो ।

कुनै पनि ऐतिहासिक सम्पदालाई पुनर्जीवित गर्नु व्यापार गर्नुजस्तो सजिलो पक्कै हुन्न । पुरानो संरचनालाई नबिगारी, त्यसको मौलिकता जोगाएर आधुनिक प्रविधि भित्र्याउनु फलामको चिउरा चपाउनुसरह थियो ।

सञ्चालक समितिका अध्यक्ष सञ्जय ती दिन सम्झँदै भन्नुहुन्छ, “हामीले यो हललाई पुनःसञ्चालनका लागि तयार पार्न करिब दुई वर्ष लगायौँ । यो दुई वर्षको कडा मिहिनेतपछि अहिले हल सञ्चालनमा आएको जम्मा पाँच महिना जति भयो । यो कुनै साधारण भवन होइन, यसको संरचना र इतिहास करिब १०० वर्ष पुरानो हो । पुराना सम्पदालाई नभत्काई त्यसकै जगमा काम गर्नु आफैँमा निकै गाह्रो र चुनौतीपूर्ण कुरा हो । हामी तीन जना मिलेर यो पुरानो इतिहास र विरासतलाई सम्हाल्ने आँट र अठोटका साथ अगाडि बढेका छौँ ।”

करोडौँको लगानीः व्यापारिक नाफा कि भावनात्मक सम्बन्ध ?

आजको व्यापारिक युगमा कुनै पनि व्यवसायीले लगानी गर्नुअघि त्यसको ‘रिटर्न अन इन्भेस्टमेन्ट’ वा नाफाको हिसाब गर्छ । एउटा मात्र स्क्रिन भएको हलमा करोडौँ रुपैयाँ खन्याउनु वित्तीय रूपमा ठूलो जोखिम मानिन्छ ।

मानिसले यो समूहलाई ‘बौलाहा’ को संज्ञा समेत दिए । तर, सञ्जय र उहाँको टिमका लागि यो हल व्यापार मात्र थिएन, एउटा गहिरो भावना थियो ।

लगानी र चुनौतीबारे श्रेष्ठ खुलाउनुहुन्छ, “धेरैले मलाई सोध्छन्, यति धेरै लगानी किन गर्नुभयो ? कति लगानी भयो ? साँच्चै भन्ने हो भने पुरानो संरचना भएकाले यसको जीर्णोद्धारमा सोचेभन्दा धेरै पैसा खर्च भएको छ । हामीले पुरानो भवनको बाहिरी फ्रेम र ऐतिहासिक संरचनालाई मात्र जस्ताको तस्तै राखेर भित्री भाग सबै भत्काएर नयाँ बनाउनुपर्यो । राज्यको कर र सिङ्गो भवनको पुनर्निर्माण गर्दा दुई–दुई वटा मल्टिप्लेक्स बन्ने जति पैसा यसैमा गएको छ । हिसाबमै भन्नुपर्दा यसमा १२ देखि १५ करोड रुपैयाँ खर्च भएको छ ।”

श्रेष्ठ थप्नुहुन्छ, “यदि हामीले यसलाई पूर्ण रूपमा भत्काएर व्यापारिक कम्प्लेक्स वा तीन–चार वटा स्क्रिन भएको मल्टिप्लेक्स बनाएको भए हामीलाई धेरै फाइदा हुन्थ्यो होला । मलाई काठमाडौँका अरू दुई–तीन वटा नयाँ मल्टिप्लेक्सबाट पनि पार्टनरसिपको अफर आएको थियो । तर म यही कामनपा–१ नक्सालको स्थायी बासिन्दा हुँ, मेरो जन्मस्थान यहीँ हो । मेरो घरबाट यो हल मात्र पाँच मिनेटको दूरीमा छ । हाम्रा बाजेबज्यै, बुबाआमाले फिल्म हेरेको र हाम्रो आफ्नै बाल्यकाल जोडिएको यो ऐतिहासिक हललाई मर्न नदिने टोलवासी र अग्रजहरूको सल्लाहबमोजिम हामीले यो कदम चालेका हौँ । मान्छेहरू मलाई ‘यत्रो पैसा एउटा मात्र स्क्रिन भएको हलमा हालेर बौलायो’ पनि भन्छन् तर मेरो लागि पैसाभन्दा यो हलसँगको भावनात्मक सम्बन्ध ठूलो हो । मलाई यो हल पुनर्जीवित गर्न पाएकोमा गर्व लाग्छ ।”

शाही ‘बाल्कोनी’को इतिहास र पुराना दिनको नोस्टाल्जिया

जय नेपाल हलको इतिहास केबल साधारण जनताको मनोरञ्जनसँग मात्र होइन, नेपालको शाही राजपरिवारसँग पनि जोडिएको छ । दरबारमार्ग र नारायणहिटी दरबारको ठीक नजिकै भएकाले तत्कालीन राजा महेन्द्र, राजा वीरेन्द्र र राजपरिवारका अन्य सदस्य यहाँ नियमित रूपमा चलचित्र हेर्न आउने गरेको भन्ने आलेखहरू भेटिन्छन् ।

सत्तरी वर्षअघि राजपरिवारका विशिष्ट सदस्य जनताभन्दा अलग्गै र सुरक्षित रूपमा फिल्म हेर्न सकुन् भनेर हलको माथिल्लो तलामा एउटा विशेष प्यासेज र ढोका बनाइएको थियो । उनीहरू सिधै माथिल्लो बाटोबाट आउँथे र बस्थे ।

त्यही राजा बस्ने ठाउँलाई ‘बाल्कोनी’ भन्न थालियो र पछि यो नेपाली हलको संस्कृति नै बन्यो । आजको नयाँ व्यवस्थापनले त्यही शाही बाल्कोनीलाई अत्याधुनिक ‘गोल्डेन’ र ‘प्लेटिनम’ क्लासका रूपमा परिमार्जन गरेको छ ।

मदनकृष्ण श्रेष्ठको रोचक किस्सा

पहिलेको हल र टिकट काट्ने सङ्घर्षको कथा सुन्दा आजको अनलाइन टिकट काट्ने पुस्तालाई कुनै दन्त्यकथाजस्तो लाग्छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कार्यक्रममा हलकै मञ्चमा उभिएर सुनाएको एउटा किस्सा यहाँ सान्दर्भिक हुनसक्छ । उहाँ कलाकार बन्नु र बिहे हुनुभन्दा अगाडि यस हलमा टिकटका लागि घण्टौँ लाइन बस्नुहुन्थ्यो ।

लाइनमा मान्छेको यति ठूलो भीड हुन्थ्यो कि टिकट नपाइएला कि भन्ने डर हुन्थ्यो । उहाँले खल्तीमा एउटा सानो पिन बोकेर आउनुहुने र आफ्नो अगाडि बस्ने मान्छेको ढाडमा विस्तारै घोचाइदिनुहुने रहेछ । अगाडिको मान्छेले दुखेर ‘कसले घोच्यो’ भन्दै क्रोधित भएर पछाडि फर्किएर हेर्दासम्म मदनकृष्ण जुरुक्क अगाडि बढेर टिकट काटिसक्नुहुन्थ्यो रे ।

एकल स्क्रिनको साख र नेपालमै पहिलोपटक ‘एमएजी साउन्ड’

मल्टिप्लेक्सको आधुनिक दौडमा जय नेपालले आफ्नो स्वरूप त फेर्यो तर आफ्नो आत्मा अर्थात् ‘सिङ्गल स्क्रिन’को स्वरूपलाई मर्न दिएन । व्यवस्थापनले हललाई टुक्र्याएर दुई वा तीन वटा ससाना अडिटोरियम बनाउन सक्थ्यो, जसले व्यापारिक रूपमा बढी फाइदा दिन्थ्यो ।

तर, त्यसो गर्दा हलको ऐतिहासिक विशालता र शाही बाल्कोनीको स्वरूप नष्ट हुन्थ्यो । त्यसैले ३०६ सिट क्षमताको यो विशाल एकल स्क्रिन हललाई नेपालकै सबैभन्दा आधुनिक ‘सिनेमा हब’ बनाइएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार यस हलमा अहिले विश्वबजारकै सबैभन्दा नवीनतम ‘लेजर प्रोजेक्ट’र र ‘क्रिस्टल क्लियर स्क्रिन’ जडान गरिएको छ । सबैभन्दा ठूलो क्रान्ति भने यसको ’साउन्ड सिस्टम’मा गरिएको छ । नेपालमै पहिलो पटक युक्रेनबाट सिधै आयात गरिएको ‘एमएजी ब्रान्ड’को अत्याधुनिक ७.१ साउन्ड प्रविधि भित्र्याइएको छ ।

सिटका सन्दर्भमा, विलासी सोफा पनि सस्तो टिकट दरमा नै उपलब्ध छन् । दर्शकलाई सहज होस् भनेर मङ्गलबार र बुधबार विशेष अफर डे पनि राखिएको छ, जसमा टिकट मूल्य आधा मात्र पर्छ ।

सुखद वर्तमान र भविष्यको सपना

अहिले पुनःसञ्चालनमा आएपछि जय नेपाल हल फेरि काठमाडौँको एउटा प्रमुख सांस्कृतिक र चलचित्र गतिविधिको केन्द्र बन्न थालेको छ । हालैका महिनामा यहाँ दर्जनौँ नेपाली तथा विदेशी चलचित्रको प्रदर्शन तथा नेपाली चलचित्र क्षेत्रका थुप्रै ऐतिहासिक र प्रतिष्ठित कार्यक्रमसमेत सम्पन्न भइसकेका छन् ।

आजको पुस्ताले मल्टिप्लेक्सको सुविधा मात्र खोज्दैन, उसले उत्कृष्ट अनुभव र कथा खोज्छ । जय नेपालले त्यही कथा पस्किरहेको छ । यहाँ चलचित्र हेर्न आउने दर्शकले मल्टिप्लेक्स सरहकै खाद्य तथा पेय पदार्थको स्वाद लिन सक्छन् ।

जोखिम र नोक्सानीको प्रवाह नगरी यो टिमको सपना अब जय नेपालमा मात्र सीमित छैन । उहाँहरू नेपालका अन्य विभिन्न सहरमा रहेका पुराना, बन्द र जीर्ण अवस्थाका ऐतिहासिक हललाई पनि यसै गरी आधुनिक प्रविधि भित्र्याएर ब्युँताउने योजनामा रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।(रासस)

सम्बन्धित समाचार