हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

दुई दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेका खोला किनाराका टहरामा बस्ने १५ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेका १५ परिवारका ९२ जनालाई उद्धार गरी कौसल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा सारेको छ ।



जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी, हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणीस्थलका ९२ जनालाई सुरक्षित रूपमा स्थानान्तरण गरेको राससलाई जानकारी दिनुभयो ।

भक्तपुर–काठमाडौँ जोड्न पुल भासियो, यातायात बन्द

भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायाको साधनलाई आवतजावतमा रोक लगाएको छ ।

निरन्तरको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीबाट सडक तथा जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बढेपछि आवागमनमा समस्या आएको छ ।

भक्तपुर-काभ्रे जोड्ने सडक सञ्चालन

अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुँदै काँभ्रेको नाला बनेपा जोड्ने सडकखण्डमा यातायात आवागमन सञ्चालन भएको छ । वर्षासँगैको पहिरोले सडक अवरुद्ध भएपछि आज बिहानदेखि च्यामासिंह ताथली नाला सडकमा सवारी आवागमन रोकिएको थियो ।

सम्बन्धित समाचार