नवकान्तिपुर संवाददाता
महोत्तरी, १५ असोज।

महोत्तरीको बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा मडै बस्ती नजिक रातु नदीको बाँध भत्किँदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।
मङ्गलबार नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो । निकास नहुँदा पानी जम्दै गएर बिहीबार बजारक्षेत्र जलमग्न भएको छ ।
जलेश्वर–१ नगरपालिकाचोकदेखि हटिया क्षेत्रमा जताततै पानी छ । तीन ठाउँमा भत्किएको बाँधले मडै, गोरीगमामा खेत काटेर नोक्सान गरेको छ । “बर्सेनि यिनै ठाउँमा बाँध भत्किने गरेको छ,” महोत्तरी–६ गोरीगमाका किसान भोला महतो भन्नुहुन्छ, “बाढीले पोटाउने बेलाको धान लडाएर सोत्तर बनाएको छ ।”
गत वर्ष पनि वन्चौरीमा बाँध फुटेको थियो । जलेश्वर डुबानमा परेपछि यातायातका साधन चलाउन अप्ठ्यारो भएको छ । हिँडडुल गर्न पनि असजिलो भएको जलेश्वर–१ का विनोद पासवान बताउनुहुन्छ ।
बाढी नगरक्षेत्रमा पसेपछि भत्किएको ठाउँमा तत्काल मर्मतसम्भार र जलेश्वर पुछारमा पानी निकासको प्रबन्ध थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
बाढी पसेपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली नोक्सान भएको छ ।

