भुटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित

नेपालमा क्रिकेट खेल्न आएको भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा खेलिएका चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा रङ्गशालामा शक्रबार सम्पन्न टी–२० पुरुष क्रिकेटको अन्तिम अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान)–११ सँग भुटानी टोली १०४ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

यससँगै भुटानले नेपाल भ्रमणअन्तर्गत खेलेका चारवटै अभ्यास खेलमा पराजय व्यहोरेको छ । घरेलु टोली गण्डकी र क्यान–११ सँगका दुई–दुईवटा खेलमा भुटान पराजित भएको हो ।

अन्तिम खेलमा जितका लागि १७७ रनको लक्ष्य पछ्याएको भुटानको टोली १७ ओभरको तेस्रो बलमा ७२ रनमै अलआउट भयो । भुटानका लागि सोनाम चोपेल र आनन्द मोंगरले समान १५ रन बनाए भने नामगे थिन्लेले १३ रन तथा तासी फुन्त्सोले १५ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

क्यान–११ का बलर विपीन शर्माले घातक बलिङ गर्दै चार ओभरमा १९ रन खर्चेर पाँच विकेट लिए । आकाश चन्दले दुई विकेट लिए भने राशिद खान, प्रकाश जैसी र विपीन खत्रीले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो । त्रितराज दासले सर्वाधिक ५१ रन बनाए ।

उनले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरे । कप्तान विपीन खत्री ३८ रनमा अविजित रहे । मयंक यादवले १५ बलमा २६, राशिद खानले १३ बलमा २४ तथा सिब्रिन श्रेष्ठले १३ बलमा १९ रन बनाए ।



प्रतियोगितामा विजेता बन्न सफल क्यान–११ र गण्डकी प्रदेशको टोलीलाई सामाजिक विकास तथा खेलकुमन्त्री रेखा गुरुङले च्याम्पियन ट्रफी प्रदान गर्नुभयो । आइसिसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’को तयारीका लागि भुटानको टोली पोखरा आएको हो ।

मलेसियामा शनिबारदेखि सुरु हुने आइसिसी ‘मेन्स टी–२०’ विश्वकप एसिया सबरिजनल क्वालिफायर ‘ए’ प्रतियोगिता सुरु हुँदैछ । सोही प्रतियोगितामा सहभागी भुटानले अभ्यास र तयारीका लागि पोखराको मैदानलाई रोजेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

सम्बन्धित समाचार