नवकान्तिपुर संवाददाता
पर्वत, १७ असोज।

असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए । शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए ।
राति १२ बजे स्थानीय सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेर आएको सूचना पुगेपछि तत्काल महत्वपूर्ण कागजात लिएर चौकी छाड्न र सुरक्षित स्थानमा जान निर्देशन दिइयो ।
प्रहरीले चौकी छाडेर आसपासका स्थानीयलाई समेत बस्तीबाट सुरक्षित स्थानमा जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बजारमा पस्यो ।
बाढीले पर्वततर्फ नौ घर बगाएको र झण्डै ५० घर डुबानमा परेको स्थानीयले बताएका छन् । सँगै जोडिएको स्याङ्जाको गल्याङ नगरपालिका–५ को बजार क्षेत्रसमेत पूर्ण रूपमा डुबानमा परेको थियो ।
स्याङ्जातर्फका करिब २५ कच्ची तथा पक्की घर बाढीमा बगेका छन् । अहिले ती क्षेत्रमा बालुवा र गिटी थुप्रिएर बगरमा परिणत भएको स्थानीय रेशमलाल न्यौपानेले बताउनुभयो । “असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ । कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,” उहाँले भन्नुभयो ।
बाढीले प्रहरी चौकीसहित खाद्यान्न, विद्युतीय सामग्री, भाँडाकुँडा, फेन्सी पसल तथा होटलमा क्षति पुर्याएको छ । नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारीलगायत संस्थासमेत डुबानमा परेका छन् । न्यौपानेका अनुसार पर्वततर्फ मात्रै करिब रु १० करोडको क्षति भएको छ ।
गुल्मीको अर्बेनीबाट सेतीवेणीमा आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले करिब रु ३० लाख बराबरको क्षति भएको बताउनुभयो । स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यसरी ठूलो बाढी पसेको पहिलोपटक देखेको बताउनुभयो ।
स्थानीय होटल व्यवसायी उमाकान्त न्यौपानेले घरसहित रु ४० लाखभन्दा बढीको क्षति भएको बताउनुभयो । “अन्यत्र जाऊँ भने जग्गाजमिन छैन । यही जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ । जीवनभरको कमाइ एकै रातमा बगरमा परिणत भयो,” उहाँले भन्नुभयो । उहाँ अहिले परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बस्नुभएको छ ।
स्थानीय अगुवा व्यवसायी रेशमलाल न्यौपानेले घर तथा विभिन्न व्यवसायमा भएको क्षतिसमेत जोड्दा पर्वततर्फ मात्रै करिब रु १० करोडको क्षति भएको जानकारी दिनुभयो । बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएर आश्रय दिएको छ ।
स्याङ्जातर्फको बजार क्षेत्र पनि बाढीपछि खण्डहरमा परिणत भएको छ । यहाँ सानाठूला गरी करिब २५ घरमा क्षति पुगेको छ । लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आउनुभएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गरौँ भनेर गरेको लगानी बाढीले क्षणभरमै बगाएको बताउनुभयो । उहाँका अनुसार करिब रु ५० लाखभन्दा बढीका सरसामान बाढीले बगाएको छ ।
गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँको क्षति भएको छ । भौतिक संरचनाबाहेक स्थानीयको रु १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको उहाँले जानकारी दिनुभयो ।
बाढीले स्थानीय मन्दिर, सत्तल, शालिग्राम शिलासम्म जाने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्याएको छ । बाढीपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको उहाँले बताउनुभयो ।
वर्षौँदेखिको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन् । अब अन्यत्र बसाइँ सर्ने वा सोही स्थानमा पुनः घर तथा व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा उनीहरू अन्योलमा छन् ।
स्थानीय शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बाढीले बजार क्षेत्र असुरक्षित बनाएपछि स्थानीय नयाँ ठाउँमा जाने वा जोखिम मोलेर पुनः सोही ठाउँमा बस्ने भन्ने विषयमा अन्योलमा रहेको बताउनुभयो ।

