काङ्ग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिहरूलाई वरिष्ठ नेता केसीको भावपूर्ण अपिल

नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले कांग्रेसको १५ औं महाधिवेशनका सहभागी सम्पूर्ण साथीहरूलाई नयाँ नेतृत्व चयनमा विवेकशील हुन हार्दिक अनुरोध गरेका छन् । यो महाधिवेशन इतिहासकै एक गरिमामय अध्याय हुने, सामर्थ्यवान र गौरवशाली पहिचानका साथ स्थापित हुने, अस्वस्थ गुटबन्दी, आन्तरिक फूट र भागबण्डाको राजनीतिबाट मुक्त गर्दै वैचारिक पुनर्जागरणका साथ ‘नवीन र बदलिएको कांग्रेस’ निर्माण गर्ने प्रस्थान बिन्दु हुने भन्दै  सबैको सतत् प्रयत्न यसतर्फ नै उन्मुख रहोस् भन्ने कामना गरेका छन् ।

उनले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै अपिल गरेका छन्–

​प्रिय साथीहरू, ​

हाल सञ्चालन भइरहेको नेपाली कांग्रेसको १५ औं महाधिवेशन धेरै अर्थमा ऐतिहासिक र युगान्तकारी बनेकोछ। यसले हाम्रो भावी दलीय जीवनलाई थप ऊर्जाशील, गतिशील र परिणाममुखी बनाउनेछ भन्नेमा दुई मत छैन। देशभर देखिएको व्यापक उत्साह र विशेष गरी युवापुस्तामा सञ्चार भएको नवीन आशाले यो महाधिवेशनलाई इतिहासकै एक गरिमामय अध्यायका रूपमा स्थापित गर्ने निश्चित छ।

​गत २०८२ पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले दिएको दूरगामी मार्गदर्शन,सन्देश र मर्मलाई यस नियमित महाधिवेशनले पूर्णता दिनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।

विगतका कमीकमजोरी, आन्तरिक गुटबन्दी, गिरोहवाद र विकृतिहरूलाई ‘कोर्स करेक्सन’ गर्दै नेपाली कांग्रेसलाई पुनः आफ्नो पूर्वहैसियत, सामर्थ्य र गौरवशाली पहिचानका साथ स्थापित गर्न यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ।

​यो महाधिवेशनको गरिमामय उत्साहपुर्ण वातावरणले पार्टीलाई संस्थागत, विधिसम्मत, पारदर्शी र नीतिमुखी दिशामा अगाडि बढाउनेछ र हाम्रा सम्पूर्ण प्रयासहरू यसमै केन्द्रित हुनुपर्छ। जटिल राष्ट्रिय परिस्थिति र वैश्वीकरणको वर्तमान द्वन्द्वपूर्ण भुपरिवेशमा मुलुकलाई सही नेतृत्व र राष्ट्रिय एकता प्रबर्द्धन गर्ने गुरुत्तर भुमिका नेपाली कांग्रेसको आज दायित्व हो। ​

पार्टी एकताका लागि मैले हिजो पनि इमानदार प्रयास गरेको थिएँ र भोलि पनि निरन्तर गरिरहनेछु। एकता भनेको महाधिवेशनको निश्चित अवधिका लागि मात्र नभई अनवरत चलिरहने प्रक्रिया हो। त्यसैले एकताका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट उदार, लचिलो र फराकिलो सोच राख्नु आवश्यक छ। ​नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो त नेपाली इतिहासको हरेक मोडमा नवीनता र निरन्तरताको सुन्दर सङ्गम सिद्ध भएको गौरवशाली लोकतान्त्रिक आन्दोलन हो।

अग्रज पुस्ताको अनुभव, त्याग र मार्गदर्शनलाई नयाँ पुस्ताको अदम्य ऊर्जा, साहस र नवप्रवर्तनसँग जोड्ने सबल सेतुका रूपमा यस पार्टीको इतिहास सदैव अद्वितीय र अनुकरणीय रहेको छ।

देशमा बिध्यमान आर्थिक बिसमता ,बदलिँदो सामाजिक-राजनीतिक परिवेशका साझा चुनौतीहरूलाई गम्भीरतापूर्वक हृदयङ्गम गर्दै यश अधिबेशनबाट तय गरिएका नीति र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन नै अबको हाम्रो मूल दायित्व हो।

​पार्टीलाई वर्षौंदेखि जकडेको अस्वस्थ गुटबन्दी, आन्तरिक फूट र भागबण्डाको राजनीतिबाट मुक्त गर्दै वैचारिक पुनर्जागरणका साथ ‘नवीन र बदलिएको कांग्रेस’ निर्माण गर्नु नै विशेष महाधिवेशनको मूल मर्म थियो । यो १५ औं महाधिवेशनले यस लक्ष्यलाई पूर्ण रूपमा सार्थक र सफल बनाउनेछ भन्ने मेरो भरोसा छ। ​

नेतृत्व चयनका क्रममा निष्ठावान् कार्यकर्ताको निरन्तर योगदान, जनप्रियता, उच्च योग्यता, साङ्गठनिक प्रतिबद्धता र युवा सहभागितालाई मुख्य आधार बनाएर सर्वसम्मतिको अधिकतम प्रयास र यदि सम्भव नभएमा हामीले स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई सहर्ष आत्मसात् गर्नुपर्छ। ​”लोकतन्त्रमा मत विभाजन हुन सक्छ, तर मन विभाजन हुनु हुँदैन।” ​

लोकतन्त्रको वास्तविक सुन्दरता विचार र विवेकको स्वतन्त्र प्रयोगमा निहित छ। त्यसैले यो प्रतिस्पर्धालाई कुनै पनि प्रकारको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट पूर्ण रूपमा मुक्त बनाइनुपर्छ। ​

जहाँसम्म मेरो व्यक्तिगत निर्णयको विषय छ- म यस १५ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएको कुरा सम्पूर्ण साथीहरूमा सादर निवेदन गर्दछु।

यो निर्णय कुनै असन्तुष्टि, निराशा वा अडानका कारण लिइएको होइन। म पूर्ववत् उत्साह र ऊर्जाका साथ तपाईंहरूसँगै निरन्तर क्रियाशील रहनेछु। मेरो अबको सम्पूर्ण ध्यान र प्रयास व्यक्तिगत पदप्राप्तिमा होइन, पार्टीको अभेद्य एकता र संस्थागत सुदृढीकरण र समग्र रास्ट्रीय एकता को प्रयासमा समर्पित हुनेछ। ​प्राविधिक वा सर्तसहितको एकता होइन; सैद्धान्तिक, वैचारिक र भावनात्मक एकताले मात्रै समृद्ध नेपाल निर्माण र राष्ट्रिय एकताको मार्गप्रशस्त गर्दछ। तसर्थ, हामी सबैको सतत प्रयत्न यसतर्फ नै उन्मुख रहोस्।

सम्बन्धित समाचार