अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासंघको बोर्ड अफ डाइरेक्टरमा आरसी कोइराला निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय लोक संस्कृति तथा नृत्यको प्रतिष्ठित संस्था अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासंघ (Federation of International Dance Festivals – FIDAF) को हालै दक्षिण कोरियाको चेओनन (Cheonan) शहरमा सम्पन्न कार्यकारी समितिको बैठक तथा अधिवेशनबाट नेपालका आरसी कोइराला ‘रामचन्द्र’ पुनः बोर्ड अफ डाइरेक्टर (Board of Director) मा निर्विरोध निर्वाचित भएका छन् ।

विश्वका ११२ राष्ट्रका १४२ जना प्रतिनिधि तथा पदाधिकारीहरूको सहभागिता रहेको सो महाधिवेशन तथा अधिवेशनमा भएको निर्वाचनबाट कोइराला चार वर्षे कार्यकालका लागि ३३ सदस्यीय कार्यकारी बोर्डमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्।

नेपाली कला र संस्कृतिका प्रवर्द्धक कोइराला

एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा विगत २६ वर्षदेखि नेपालमा निरन्तर हरेक दुई-दुई वर्षमा आयोजना हुँदै आएको नेपालको एकमात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका अध्यक्ष समेत रहेका कोइराला यसअघि पनि FIDAF को बोर्ड अफ डाइरेक्टर तथा एसियाली महाद्वीपका लागि उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

कोइरालाले नेपाली कला, संस्कृति, परम्परा र लोक नृत्यलाई विश्वसामु चिनाउन ८५ भन्दा बढी देशहरूमा नेपालको सांस्कृतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशिष्ट योगदान पुर्याएका छन् ।

बधाई तथा शुभकामना

विश्व मञ्चमा नेपालको नाम पुनः उच्च राख्न सफल भएकोमा संस्कृतिविद्, कलाकार तथा विभिन्न संघ-संस्थाहरूले कोइरालालाई हार्दिक बधाई व्यक्त गरेका छन्। कोइरालाको यस सफल निर्वाचनले आगामी दिनमा नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्न अझ ठूलो हौसला र प्रेरणा मिल्ने विश्वास लिइएको छ।



सम्बन्धित समाचार