नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै सुरु हुने भएको छ ।
खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरु गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ः०० बजेदेखि मात्रै मतदान थालिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो । महाधिवेशनको उद्घाटन यही असोज १८ गते भएको थियो ।
उहाँले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएकाले शुक्रबार बिहान ७ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुने बताउनुभयो । महाधिवेशन प्रतिनिधिको सङ्ख्या सात हजार ३१७ रहेको पनि सदस्यसचिव कटुवालले बताउनुभयो ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि थालिने जानकारी दिनुभयो । उहाँले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरिरहेको बताउनुभयो ।
कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशको मतदान हुनेछ । खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका साथै नेपाली जनसम्पर्क समितिको मतदानको व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।
परिचयपत्र र मतदाता नामावली रुजु गरिने
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ ।
मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् ।
यसैगरी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको सदस्यसचिव कटुवालले जानकारी दिनुभयो ।
सो प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ । अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ । मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।
पार्टीको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् ।

