मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँदैछ । महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहरा (शारदीय नवरात्र) भनिने यो पर्वले जताततै चहलपहल बढाएको छ ।

आज शारदीय नवरात्र (दशहरा)को घटस्थापना विधिका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरैजसो देवी आराधनाका मङ्गलधून मिथिला क्षेत्रमा बज्न थालेका छन् । मैथिल जनबोलीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वको पहिलो दिन नै मिथिला क्षेत्रमा देवी दुर्गाका महिमा गानका भजन गुञ्जन थालेका छन् ।

देवी दुर्गाको आराधना गरिने मिथिलामा दुई नवरात्र प्रचलनमा छन् । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मलाई वासन्ती नवरात्र भनिने गरिएको छ ।

वर्षमा दुई नवरात्रको परम्परा भए पनि मिथिला क्षेत्रमा ‘दशहरा’ शारदीय नवरात्रलाई नै भनिने गरिएको मैथिली संस्कृतिविद् जलेश्वर–५ पतैलीका बासिन्दा अवकासप्राप्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

शारदीय नवरात्रको पहिलो दिन आज आइतबार मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्राको तयारी छ ।

कन्या कुमारीहरू (अविवाहित किशोरी)ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।

यस क्रममा महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ औरही–७ भोइलस्थित सोनासती (सोनामाई) स्थान, बर्दिबास–४ स्थित पञ्चधुरा माईस्थान, जलेश्वर–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याले रातु नदी र लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायतका धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेका पवित्र जल कलशयात्रासहित मन्दिर परिसरमा पुर्याउँदैछन् ।

सामान्यतया नवरात्र प्रतिपदादेखि नवमीसम्म नौ दिन हुने भए पनि यसपालि तिथिको घटबढले १० दिनको छ । आज सुरु नवरात्र आउने कात्तिक ३ गते मङ्गलबारसम्म रहने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चा¬ङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गकै आधारमा चाडपर्व, लग्न र मुहूर्त पहिल्याउने चलन छ ।

यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिँदै छ । आजै मन्दिरमा जौँ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिने छ ।

महोत्तरीमा नवरात्रको दुर्गामेला ४० ठाउँमा आयोजित छन् । जसमा सोनामाई, जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र सीतापुरबजारका विशेष मानिन्छन् ।

पर्वका अवसरमा मिथिलाका गाउँ÷नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् । खासमा मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई, सोनामाई, सप्तरी जिल्लाका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर (परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको) र बारा जिल्लाको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन् ।

मैथिल हिन्दू परम्परामा घरघरै देवी दुर्गाको पूजाअर्चना गरिने र चण्डी पाठ गरिने परम्परा छ । दशहरा प्रारम्भसँगै महोत्तरीका गाउँ÷नगर बस्तीमा धमाधम लिङ्गे पिङ गाड्ने तयारीमा युवापुस्ता लागेका छन् ।

दशहरा पर्वमा ‘दुर्गा मेला’ आयोजन गरिने मैथिल परम्परा छ । यसअनुसार बस्तीबस्तीमा देवी दुर्गाका प्रतिमा बनाइएर उत्सवमय रूपमा ‘दुर्गा मेला’को आयोजना गरिँदै छ ।

नवरात्र अवधिमा क्रमशः देवी दुर्गाका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको आराधना क्रमशः प्रतिपदा (घटस्थापना)का दिनदेखि नवमीसम्म गरिन्छ । दशमीका दिन देवी पूजन विसर्जन गरेर प्रसादस्वरुप जमरा लगाएर मैथिल परम्पराको शारदीय नवरात्र सम्पन्न गरिन्छ ।

पर्वका अवसरमा महोत्तरीमा सुरक्षा प्रबन्धका लागि जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना लागू गरेको छ । यसअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित एक हजार ३३१ सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यसै पर्वअवधिमा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरसहितका राक्षसको संहार गर्नुभएको देवीभागवतमा वर्णित छ ।

यस अवधिमा देवी दुर्गाको उपासनाले मन, वचन र कर्ममा शुद्धता आउने र सधैँ सत्कर्म, सद्विचार र सद्आचरणमा प्रवृत हुइने हिन्दू मैथिल जनविश्वास छ ।

सम्बन्धित समाचार