
घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दशैंको रौनक छ । तर बर्दियाको राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दशैं खुसीको पर्व बन्न सकेको छैन ।
परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ ।
बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सिर्जना थारुलाई यस वर्षको दसैँले झन् पीडा थपेको छ । घरमा जमरा राखिए पनि श्रीमान् बेपत्ता भएको पीडाले उहाँलाई पर्व मनाउने जाँगर छैन ।
आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो, “दशैं आएको छ, तर परिवारमा कुनै खुसी छैन ।” परम्पराअनुसार कुलदेवताको पूजा गरे पनि श्रीमान् बेपत्ता हुँदाको पीडाले दशैं मनाउन नसकेको उहाँले बताउनुभयो । विगतमा परिवारसँगै बसेर खुसी साटासाट गरेको दशैं सम्झँदा अहिले मन झन् भारी हुने उहाँको भनाइ छ ।
सोही गाउँका सुरेश थारु पनि भोटेकोशी बाढीमा बेपत्ता हुनुभएको छ । उहाँकी श्रीमती रमिता थारु श्रीमान् फर्किने आशामा दिनरात बिताइरहनुभएको छ । “रातदिन श्रीमान्कै प्रतीक्षामा छु । उहाँलाई सम्झेर दसैँ कसरी मनाउने ?” उहाँले भन्नुभयो । घरमा जमरा राखेर कुलदेवताको पूजा गरे पनि दुःखका कारण टीका नलगाई दशैं बिताउने उहाँले बताउनुभयो ।
सिर्जना र रमिताजस्तै तिनघरवाका पाँच परिवार अहिले शोक र प्रतीक्षामा छन् । एउटै टोलका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गत भदौ १० गते भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थिए ।
पाँच जना बेपत्ता भएपछि पीडा परिवारमा मात्र सीमित छैन, सिङ्गो गाउँ नै शोकमा डुबेको छ । बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पाँच परिवारमा परेको विपत्तिले गाउँका सबैलाई दुःखी बनाएको बताउनुभयो । आफन्त, गरगोतियार र छरछिमेकमा पनि यस वर्ष दसैँको रौनक नरहेको उहाँले बताउनुभयो ।
राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा ७५ परिवार बसोबास गर्छन् । विगतमा रोजगारी, व्यवसाय र अध्ययनका लागि सहरबजार तथा जिल्लाबाहिर गएकाहरू दशैं मनाउन गाउँ फर्किन्थे । गाउँमा चहलपहल हुन्थ्यो र सबैले मिलेर पर्व मनाउँथे ।
तर यस वर्ष बाढीको पीडाले गाउँको माहोल बदलिएको छ । गाउँका बरघर बरुण थारुले यस वर्ष गाउँमा दशैंको रौनक नरहेको बताउनुभयो । “दशैं आएको छ, तर गाउँमा मादल बज्दैन । कसैको मनमा पनि खुसी छैन,” उहाँले भन्नुभयो । बाढीको पीडाका कारण तिनघरवासीले यसअघि अटवारी र तीज पनि उल्लासपूर्वक मनाउन नसकेको स्थानीयले बताएका छन् ।
भोटेकोशी बाढीमा बेपत्ता भएका मजदुरका परिवारले अहिलेसम्म सरकारी राहत नपाएको गुनासो गरेका छन् । आफन्तको काजकिरिया गर्न खर्च अभाव भएको उनीहरूको भनाइ छ ।
बेपत्ता सुरेश थारुकी श्रीमती रमिताले काजकिरियाका लागि आर्थिक समस्या भएको बताउनुभयो । स्थानीय सरकारले किरियाखर्च उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म नपाएको उहाँको गुनासो छ ।
राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुसीराम थारुका अनुसार सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा नगरेकाले काजकिरियाका लागि राहत उपलब्ध गराउन समस्या भएको हो । बेपत्ता व्यक्तिलाई मृत घोषणा गरिएमा स्थानीय सरकारले काजकिरियाका लागि रु ५० हजारसम्म सहयोग गर्न सक्ने उहाँले बताउनुभयो ।
बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पनि सरकारले कुनै किसिमको राहत वा सहयोग उपलब्ध नगराएको गुनासो गर्नुभयो । उहाँका अनुसार राजु काममा गएको ज्यालासमेत पाउनुभएको छैन ।
“यहाँबाट कामदार लगेको ठेकेदारसँग फोनमा सम्पर्क भए पनि प्रत्यक्ष भेटघाट भएको छैन,” उहाँले भन्नुभयो । बेपत्ता परिवारलाई राहत उपलब्ध गराउन र बाँकी ज्याला दिलाउन सरकारले प्रभावकारी पहल नगरेको उहाँको गुनासो छ ।
भोटेकोशी बाढीमा राजापुर नगरपालिका–९ तिनघरवाका पाँच जनासहित राजापुर नगरपालिकाका ११ जना बेपत्ता छन्। बर्दियाबाट ७६ जना बेपत्ता छन् ।(रासस)

