नवकान्तिपुर संवाददाता
चितवन, ३ कार्तिक।

दशैंको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षबाट १५० जनाले दैनिक सेवा लिइरहेका छन् । यसरी उपचारमा आउनेहरूमा सवारी दुर्घटना, हृदयघात, स्ट्रोक र खानपानसँग सम्बन्धित बिरामीको सङ्ख्या तुलनात्मक रुपमा धेरै रहेको अस्पतालले जनाएको छ ।
सिएमसीका कलेजो विभागका प्राडा दयाराम लम्साल करिब तीन दशकको आकस्मिक कक्षको आफ्नो अनुभवलाई मूल्याङ्कन गर्दै चाडपर्वमा खानपानमा सावधानी नअपनाएकै कारण धेरै मानिस अस्पताल आउन बाध्य हुनु परेको बताउनुहुन्छ ।
बडादशैं पर्वका अवसरमा दुर्घटनाका घाइते, मुटु रोग, पक्षघात (स्ट्रोक), विषाक्त खाना, हड्डी अड्किने जस्ता समस्याबाट पीडित व्यक्ति अस्पताल आउने गरेको उहाँको भनाइ छ ।
डा लम्सालका अनुसार पकाउँदै गर्दा जलेर, जङ्गली च्याउ खाएर, घरको छतबाट लडेर, दीर्घरोगीले नियमित औषधि नखाइदिएर, करेन्ट लागेर, अनिन्द्रा बसेर समस्या निम्त्याउनेहरूको सङ्ख्या पनि अस्पतालमा उल्लेख्य देखिन्छ ।
चाडपर्वको समयमा हुने यस्ता समस्यामा अधिक मादक पदार्थ सेवन मुख्य कारण हुने गरेको उहाँको भनाइ छ । प्राडा लम्सालले भन्नुभयो, “चाडपर्वमा मादक पदार्थ अधिक सेवन गरेर सवारी चलाउँदा धेरै दुर्घटना हुने र आपसी झैझगडाका क्रममा घाइते भई अस्पताल आउने विरामी पनि त्यत्तिकै देखिन्छ ।”
उहाँले ट्राफिकलाई छल्न नभई आफ्नै सुरक्षाका लागि मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र ख्यालख्यालमै भैmझगडा गरी अङ्गभङ्ग हुने अवस्थामा नपुग्न सुझाव दिनुभयो ।
खानपान र खेलमा व्यस्त हुँदा नियमित औषधि छुटाउँदा दीर्घरोगीहरुमा समस्या हुने गरेको उहाँले बताउनुभयो । चिल्लो, मासुजन्य पदार्थ, धुमपान र मादक पदार्थ बढी सेवन गर्दा हृदयघात र स्ट्रोक हुन सक्ने भन्दै उहाँले यस्ता कुरामा सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले खराब खानपानसँगै राति अबेरसम्म बसेर निन्द्रा नपुग्दा पनि जोखिम बढ्न सक्ने बताउनुभयो ।
हृदयघात र पक्षघात भएका बिरामीलाई समयमा अस्पताल पुर्याउन सक्यो भने बचाउन सकिने उल्लेख गर्दै प्राडा लम्सालले भन्नुभयो, “हृदयघात भएको एक घण्टाभित्र र पक्षघात भएको तीन घण्टाभित्र अस्पताल पुर्याउन सकियो भने बिरामीलाई बचाउन सक्ने सम्भावना धेरै हुन्छ ।” यसैका लागि अस्पतालले चाडपर्वका समयमा पनि तयारी अवस्थामा विशेषज्ञ चिकित्सकहरुलाई राखेको उहाँले जानकारी दिनुभयो ।
चितवन मेडिकल कलेजले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्दसहित आफ्नै मापदण्ड बनाएर न्यूरो, मुटु, रेडियोलोजीको टिम तयारी अवस्थामा राखेको जनाएको छ । आकस्मिक उपचारमा ‘डिएम’ गर्नुभएका डा रविन बम पक्षघातको सङ्केत देखिएका बिरामीले अस्पताल आउन ढिलो गर्न नहुने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “शरीरको कुनै भाग चलेन, जिब्रो लाटो भयो, मुख बाङ्गो भयो, हात खुट्टा चलेन भने जतिसक्दो छिटो अस्पताल आउनु पर्छ ।” आज चाडपर्व छ भोलि अस्पताल जाउँला भनेर बस्न नहुने उहाँको भनाइ छ ।
धेरै चिल्लो मासु खाएको छु भनेर कडा व्यायाम नगर्न सुझाव दिँदै डा बलमे भन्नुभयो, “शरीरले धान्न सक्ने मात्रै व्यायाम गर्नुपर्छ, अति गरे खति हुन्छ, व्यायम गर्दा पनि सावधानी अपनाउनुहोस् ।”
यसैगरी, उहाँले हृदयघातका जोखिम चाडपर्वमा बढी हुन सक्ने भन्दै छाती दुख्ने, भारी हुने श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिए तुरुन्त अस्पताल पुगी सुरक्षित हुन सबैसँग अनुरोध गर्नुभयो ।
