पाकिस्तानका हुसेन तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलतलाई बिहीबार विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो ।

“पाकिस्तानका अलराउन्डर हुसेन तलत अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,” कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।

हुसेनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तरराष्ट्रिय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले १२ एकदिवसीय खेलमा २२४ रन तथा २३ टी–२० अन्तरराष्ट्रिय खेलमा ४४१ रन जोडेका छन् । टी–२० अन्तरराष्ट्रियमा उनको नाममा सात विकेट पनि छ ।

घरेलु तथा विभिन्न ‘फ्रेन्चाइज’ प्रतियोगितामा नियमित खेल्दै आएका तलतसँग टी–२० क्रिकेटमा राम्रो अनुभव छ । अलराउन्डर तलतले अहिलेसम्म २०४ खेलबाट तीन हजार ९५० रन बनाएका छन् ।

हुसेनले पाकिस्तान सुपर लिग (पिएसएल), बङ्लादेश प्रिमियर लिग (बिपिएल) लगायत प्रतिष्ठित व्यावसायिक लिग खेलिसकेका छन् । अब उनी नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि जोडिँदै छन् ।

एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

सम्बन्धित समाचार