आश्विन शुक्ल त्रयोदशी : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

आश्विन शुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम आज पनि जारी छ ।

विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्राडा पुरुषोत्तम भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताउनुहुन्छ । केही दिन सुनसान रहेको राजधानी शहरमा आज बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ ।

मानिसको चहलपहल बढेको देखिए पनि सवारी कम हुँदा यात्रा सहज हुन सकेको छैन । सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा हिजोका दिनभन्दा बढी छ । यसवर्ष कात्तिक ८ गते आइतबार अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।

सम्बन्धित समाचार