पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ ।

विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले विसं २०७६ देखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा पशुमा दुई लाख १२ हजारभन्दा बढी मात्रा खोप लगाइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका पाँचवटै स्थानीय तहका ३२ हजार ७९४ पशुपालक घरपरिवारलाई समेटेर दुई लाख १२ हजार ४७० मात्रा खोप लगाइएको हो ।

खोप कार्यक्रमबाट खोरेत, पिपिआर, लम्पी स्किन, रेबिजलगायत पशुमा लाग्ने रोगको जोखिम न्यूनीकरणमा सहयोग पुगेको कार्यालयका प्रमुख डा ग्रिष्म न्यौपानेले जानकारी दिनुभयो ।

“पशुमा महामारीजन्य रोगको सङ्क्रमण नियन्त्रण गर्न समयमै खोप लगाउनु महत्वपूर्ण हुन्छ । नियमित खोप कार्यक्रमले पशुमा रोग लाग्ने र फैलिने जोखिम घटाउनाका साथै पशुको स्वास्थ्य संरक्षण, उत्पादन तथा उत्पादकत्व वृद्धि र पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोग नियन्त्रणमा पनि सहयोग पुगेको छ । पूर्ण खोप कार्यक्रमपछि विगतका तुलनामा खोरेत लगायतका महामारीजन्य रोग धेरै नै कम भएको छ,” कार्यालय प्रमुख डा न्यौपानेले भन्नुभयो ।

कार्यालयका अनुसार गत आवमा खोरेत रोगविरुद्ध ८० हजार ६२६, पिपिआरविरुद्ध ८७ हजार ४७२, लम्पी स्किनविरुद्ध ३२ हजार ३२७, रेबिजविरुद्ध आठ हजार ४२९, क्लासिकल स्वाइन फिभरविरुद्ध दुई हजार ५३ र डिएचपिपिएल खोप एक हजार ४०० मात्रा लगाइएको थियो ।

पूर्ण खोप कार्यक्रमका लागि गत वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन गरिएकामा रु एक करोड ३४ लाख ९२ हजार ७५० खर्च भएको थियो । खोप कार्यक्रम सञ्चालनका लागि जिल्लामा १७२ जना खोपकर्तालाई परिचालन गरिएको थियो ।

कार्यालय प्रमुख डा न्यौपानेले भन्नुभयो,“कार्यक्रमले पशुपालकलाई पशुमा रोग लागेपछि उपचार गर्ने अवस्थाबाट रोग लाग्न नदिन पूर्वतयारी गर्ने अभ्यासतर्फ प्रोत्साहित गरेको छ ।”

पशुमा महामारीजन्य रोग फैलिँदा पशु मर्ने, उत्पादन घट्ने र पशुपालकले आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले नियमित खोप, रोगको निगरानी र समयमै उपचारलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।

पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिम घटाउन पनि पशु स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको पशु विकास अधिकृत सहदेव पौडेलले बताउनुभयो ।

सम्बन्धित समाचार