कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

यस पटकको दसैँमा कर्णालीवासीले आनन्दको अनुभूति गरेका छन् । देश–विदेशबाट दसैँ मनाउन घर फर्केका उनीहरुको यात्रा कष्टकर त बन्यो, यद्यपि गन्तव्य पुग्दासम्म कुनै पीडादायक घटना व्यहोर्न परेन । मौसम अनुकूल नै बन्यो । प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्नुपर्ने अवस्था आएन ।

दसैँ तथा तिहारका लागि घर फर्केका यात्रुहरुका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले निर्माण गरेको ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ को प्रभावकारी कार्यान्वयन गर्यो । सो योजना असोज २५ देखि कात्तिक ३० गतेसम्मको अवधिमा लागू गर्ने गरी कार्यान्वयनमा ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त तुल्याउने उद्देश्यले निर्मित ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ प्रदेश प्रहरी मातहतका दशवटै जिल्लाहरुमा कार्यान्वयन आएको प्रहरी नायब महानिरीक्षक सापकोटाले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका सबै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन पाँच हजार ३१४ प्रहरी परिचालन गरिएको छ ।

सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद नेपाल प्रहरी अहोरात्र खटिएको बताउँदै उहाँले जुवातास र सामान्य सवारी दुर्घटना जस्ता छिटपुट घटना घटे पनि जनधनको ठूलो क्षति हुने खालका कुनै दुर्घटना नभएको जनाउनुभयो । सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन र प्रहरी परिचालनको उचित व्यवस्थापनले अप्रिय घटना हुन नसकेको प्रहरी नायब महानिरीक्षक सापकोटाको भनाइ छ ।

तिला गाउँपालिका–५ जुम्लाका रणबहादुर रावतले दसैँ पर्व सुरक्षितसँग मनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतभन्दा यस वर्षको कर्णालीवासीको दसैँ शान्त र सुरक्षित बन्यो । कहीँकतै छिटपुट घटना घटे पनि त्यस्ता दुःखद र डरलग्दा घटनाहरु सुन्नु परेन । अकल्पनीय र अत्यास लाग्दा दुर्घटना भोग्न परेन । बरु १० वर्षसम्म पनि भेट हुन नसकेका आफन्तहरुसँग यो वर्ष मिलन हुने अवसर जुट्यो । यो नै हाम्रा लागि धेरै खुसीको कुरा हो ।”

त्यस्तै, भैरवी गाउँपालिका–३ दैलेख निवासी दुर्गा गौतम सापकोटाले यस वर्षको दसैँ आफन्तहरुसँगको मिलनले आनन्दमय तरिकाले मनाइएको बताउनुभयो । “आफ्नै कला, संस्कृति र वेशभूषामा सजिएर परिवार तथा आफन्तबीच सुख, दुःख साटासाट गर्ने अवसर जुट्यो,” उहाँले भन्नुभयो, “वर्षौंदेखि टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ । यो दसैँको अवधिभर कर्णालीमा कहीँकतै नराम्रा घटना घटेको सुनिएन । यो जस्तो सुखद् कुरा अरू के हुन सक्छ ।”

दसैँसहित दीपावलीमा पनि सुरक्षा योजना कार्यान्वयन गर्न गराउन कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालय पनि गरी जम्मा एक हजार ४६२ ड्युटीमा पाँच हजार ३१४ प्रहरी खटाउनाका साथै मोबाइल गस्ती २८, मोटरसाइकल गस्ती ९८, द्रुत प्रतिकार्य टोली ६०, पैदल गस्ती १४८, लामो तथा छोटो दूरीका गस्ती २०४ वटा रहेका छन् परिचालन गरेको छ ।

त्यस्तै, विशेष, नियमित तथा आकस्मिक चेकिङ ६७,ट्राफिकसहितको संयुक्त चेकिङ ४७, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलको ३८, यात्रु तथा नागरिक सहायता कक्ष ३७, बैङ्क तथा वित्तीय सङ्घसंस्था, सुरुक्षा तथा बजार अनुगमन ३१, विशिष्ट व्यक्तिको सुरुक्षा १०, माइकिङ प्रचारप्रसार ३४ र अन्य ड्युटीसमेत गरेर ४९४ स्थानमा प्रहरी ड्युटी राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार