ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलङ्काका राजदूतावाससँगको सहकार्यमा ‘हिमाली शिखरदेखि समुद्री तटसम्म’ शीर्षकमा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, बेल्जियमस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि, नेपाललगायत सहभागी देशका शुभेच्छुक र सञ्चारकर्मीसहित करिब एक सय जनाको सहभागितामा भएको कार्यक्रममा बेल्जियम, द नेदरल्याण्ड्स र लग्जेम्बर्गका लागि नेपालका राजदूत सेवा लम्सालले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन, समृद्ध सम्पदा तथा आरोग्य पर्यटनका विशेषताबारे जानकारी गराउनुभयो ।

नेपालले सन् २०२७ लाई अन्तरराष्ट्रिय आरोग्य वर्षका रूपमा मनाउन लागेको जानकारी दिँदै नेपालको आध्यात्मिक तथा आरोग्य पर्यटनको अनुभव लिन उहाँले सहभागीलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिका युरोपेली बाह्य कार्य सेवाका उपमहानिर्देशक डोमिनिक पोर्टरले नेपालसहित दक्षिण एसियाली देशसँग युरोपेली सङ्घको सहकार्यबारे चर्चा गर्दै दिगो पर्यटन प्रवर्द्धनमा जोड दिनुभएको उक्त दूतावासले जनाएको छ ।

कार्यक्रममा भुटानका राजदूत छोक्की छोडेन, श्रीलङ्काका राजदूत चन्दना वीरसेना र माल्दिभ्सका राजदूत उज्मा फतिमथ धियाना आआफ्ना देशका पर्यटकीय विशेषताबारे जानकारी गराउनुभयो ।

औपचारिक कार्यक्रमपछि चारै देशका मौलिक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति गरिएको थियो । नेपालको लाखे नाच र परम्परागत धिमे बाजाको प्रस्तुतिले सहभागीको ध्यान आकर्षित गरेको थियो ।

कार्यक्रममा नेपालसहित चारै देशले आआफ्ना पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि छुट्टाछुट्टै प्रदर्शनी कक्ष राखेका थिए । नेपाली कक्षमा पर्यटनसम्बन्धी पुस्तिका, पोस्टर, नक्सा, मिथिला कला तथा हस्तकलाका सामग्रीका साथै पश्मिना, चिया र कफीलगायत नेपाली उत्पादन प्रदर्शन गरिएको थियो । नेपाली पर्यटनसम्बन्धी श्रव्यदृश्य सामग्री पनि प्रदर्शन गरिएको थियो ।

नेपाली पर्यटन कक्षमा सहभागीले विशेष चासो देखाउँदै दूतावासका प्रतिनिधिसँग नेपालको भ्रमणका अवसर र प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी लिएका थिए ।

कार्यक्रममा सहभागी चारै देशले आआफ्ना परम्परागत परिकार पनि प्रस्तुत गरेका थिए । प्रत्येक देशले दुई प्रकारका परिकार प्रस्तुत गरेकामा नेपालका तर्फबाट सेलरोटी र छोइला प्रस्तुत गरिएको थियो । ती परिकार सहभागीले रुचाएका थिए ।(रासस)

सम्बन्धित समाचार