बाढीबाट विद्यालय गुमाएका त्रिभुवन त्रिशूली माविका एक हजार ४३७ विद्यार्थीलाई सहयोग

रसुवामा गएको बाढीले विद्यालय भवन बगाएपछि प्रभावित भएका नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका एक हजार ४३७ विद्यार्थीलाई राहत सामग्री प्रदान गरिएको छ ।

एफकेबी युकेको सहयोगमा बास नेपालले विद्यालयमै पुगेर २५० छात्रालाई पुनःप्रयोग गर्न मिल्ने प्याडसहितको फ्रिडम किट ब्याग र ३०० छात्रलाई दैनिक उपभोग्य, स्वास्थ्य तथा प्राथमिक उपचार सामग्रीसहितको हाइजेनिक किट वितरण गरेको हो ।

त्यस्तै, जनजीवन फाउन्डेसन भारत तथा नेपालगन्जका विभिन्न संस्था र व्यक्तिको सहयोगमा एक हजार २८६ वटा स्टेसनरी सामग्री, ४७२ विद्यार्थीलाई लत्ताकपडा, १३७ वटा भाँडाकुँडा, २३ थान ओढ्ने–ओछ्याउने कपडा र ५१ जनालाई झोला वितरण गरिएको छ । बास नेपालका अनुसार कुल रु १० लाख बराबरको सहयोग उपलब्ध गराइएको हो ।

विदुर नगरपालिका–१ का वडाध्यक्ष लेनिन रञ्जितको उपस्थिति तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा सामग्री हस्तान्तरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले सहयोगप्रति आभार व्यक्त गर्दै विद्यार्थीलाई मनोसामाजिक सेवा उपलब्ध गराउन बास नेपालसँग आग्रह गर्नुभयो ।

बाढी आउन लागेको मौखिक सूचना पाएपछि विद्यालयले त्रिशूली नदी किनारमा रहेको विद्यालयका एक हजार ६०० भन्दा बढी विद्यार्थीलाई घर पठाएको थियो । त्यसैले मानवीय क्षति हुन पाएन । विद्यार्थी र शिक्षक घर पुगेको केही समयमै विद्यालय भवन बाढीले पूर्ण रूपमा बगाएको थियो ।

विद्यालय भवन बगेपछि बन्द भएको विद्यालयले असोज १ गतेदेखि विदुर नगरपालिका–१ को कलोनीस्थित यातायात तथा भौतिक मन्त्रालयअन्तर्गतको भवन निर्माण शाखाको भवनमा अस्थायी रूपमा पठनपाठन सञ्चालन गर्दै आएको छ ।(रासस)

सम्बन्धित समाचार