‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

सूचना प्रविधिले सृजना गरेका अवसर उपयोग गर्न नेपालका विश्वविद्यालयले समयानुकूल सीप, सिर्जनात्मक सोच, अनुसन्धान क्षमता र समस्या समाधान गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

कैलालीको धनगढीमा यही कात्तिक १३ गतेदेखि जारी ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन, २०८३’ मा वक्ताहरूले विश्वविद्यालय शैक्षिक प्रमाणपत्र प्रदान गर्ने संस्थामा मात्र सीमित नभई स्थानीय समस्या पहिचान, समाधानका उपाय, नयाँ प्रविधि विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने केन्द्रका रूपमा स्थापित हुनुपर्ने बताएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तगर्तको कैलाली बहुमुखी क्याम्पस, उद्यमशीलता प्रवर्द्धन केन्द्र (इन्क्युबेसन सेन्टर)को आयोजनामा शुक्रबारदेखि सुरु भएको तीनदिने सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, जलवायु परिवर्तन र ज्ञानमा आधारित अर्थतन्त्रले शिक्षा, रोजगारी तथा उत्पादन प्रणालीमा तीव्र परिवर्तन ल्याइरहेको सन्दर्भमा विश्वविद्यालयको भूमिका र जिम्मेवारी पनि बदलिँदै गएको विज्ञहरूले बताएका छन् ।

विज्ञहरूले सन् २०३० सम्म विश्वका ४० प्रतिशत रोजगारी स्वचालित प्रणालीबाट प्रभावित हुनसक्ने र सोही अवधिमा विश्व श्रमबजारमा एक अर्ब जेनजी युवा प्रवेश गर्ने अनुमान प्रस्तुत गर्दै त्यसअनुसार अब विश्वविद्यालयले आफूलाई रूपान्तरण गर्नुपर्ने बताएका थिए ।

उनीहरूले विद्यार्थीलाई परम्परागत पाठ्यक्रम र परीक्षामा मात्र सीमित नराखी प्रविधिको प्रयोग, नयाँ विचारको विकास, उद्यमशील सोच र बदलिँदो श्रम बजारअनुसार तयार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

‘विश्वविद्यालयले अहिले नै नवप्रवर्तनको नेतृत्व किन गर्नुपर्छ ?’ विषयमा धारणा राख्दै राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सुदन झाले विश्वविद्यालयको परम्परागत भूमिकामा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

त्यसका लागि पाठ्यक्रम, शिक्षण पद्धति र अनुसन्धानका प्राथमिकता परिवर्तन गरी विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप, प्रविधिको प्रयोग र स्थानीय समस्या समाधान गर्ने अवसर दिनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य डा आनन्दबहादुर चन्दले सुदूरपश्चिममा माध्यमिक शिक्षा पूरा गर्ने विद्यार्थीको अनुपात र उच्च शिक्षामा विद्यार्थीको निरन्तरतासम्बन्धी समस्या विश्लेषण गरी समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेशका करिब ४९ प्रतिशत विद्यार्थी ननग्रेडेड हुने गरेको र तीमध्ये ७७ प्रतिशत गणित विषयमा रहेको उल्लेख गर्नुभयो ।

“शैक्षिक गुणस्तरमा कमी, गरिबी, भौगोलिक विकटता र रोजगारीका सीमित अवसरका बीच मानव विकास सूचकाङ्कमा पनि हामी पछाडि छौँ । त्यसैले यी समस्या समाधान गर्दै सिकेको ज्ञानलाई प्रदेशको उत्पादन, रोजगारी, उद्यमशीलता र सामाजिक रूपान्तरणसँग जोड्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

स्टार्टअप अभियन्तासमेत रहनुभएका सांसद चन्दले सुदूरपश्चिमका विश्वविद्यालयले स्थानीय कृषि, जलवायु परिवर्तन, विपद् जोखिम, जैविक विविधता, पर्यटन, स्वास्थ्य र डिजिटल पहुँचका समस्यालाई अनुसन्धानको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।



सुदूरपश्चिमका कृषि, पर्यटन, जैविक विविधता, जडीबुटी, परम्परागत औषधि तथा सांस्कृतिक सम्पदालाई आधुनिक प्रविधिसँग जोडेर नयाँ उद्यम र रोजगारी सृजना गर्न सकिने विषयमा पनि सम्मेलनमा चर्चा भएको थियो ।

स्थानीय ज्ञानको वैज्ञानिक अभिलेखीकरण तथा अनुसन्धान, पर्यटनमा डिजिटल सूचना प्रणाली र स्थानीय उत्पादनको बजारीकरणमा प्रविधिको प्रयोग गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टले विश्वविद्यालयमा हुने अनुसन्धान र सूचना प्रविधिका उपलब्धिलाई नागरिकको दैनिक जीवन तथा स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्ने बताउनुभयो ।

अनुसन्धानका नतिजाअनुसार किसान, उद्यमी, स्थानीय तह र समुदायसम्म उपलब्धि हासिल गर्न तीनै तहका सरकारले सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न नवप्रवर्तनमा आधारित उद्यमशीलताको विकास अपरिहार्य रहेको बताउनुभयो ।

यस्तो कार्य विश्वविद्यालय वा सरकारले एक्लै गर्न नसक्ने उल्लेख गर्दै उहाँले सरकार, निजी क्षेत्र, अनुसन्धानकर्ता, उद्यमी र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच हुँदै आएको सहकार्यलाई अब नवप्रवर्तनमा आधारित उद्यम विकाससम्म विस्तार गर्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयसँग सहकार्य गरी सुदूरपश्चिमका गाउँगाउँमा रहेका सम्भावना पहिचान गर्दै उद्यमशीलता विकास गर्न निजी क्षेत्र तयार रहेको उहाँको भनाइ थियो ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं इन्क्युबेसन सेन्टरका सदस्य पुष्करराज ओझाले सुदूरपश्चिमका सम्भावनालाई उद्यममा रुपान्तरण गर्न सबैसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

विदेशमा सीप सिकेर फर्किएका तथा स्वदेशमै उद्यम गर्न चाहने युवालाई आवश्यक सहजीकरण गर्न आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा किशनदत्त भट्टले विश्वविद्यालय नवप्रवर्तनको मुख्य आधार बन्न सक्ने बताउँदै यसका लागि सहकार्य गर्न आग्रह गर्नुभयो ।

उहाँले स्टार्टअप नीति, उद्यमशीलता प्रवर्द्धन कार्यक्रम, संयुक्त अनुसन्धान र विद्यार्थीका नवीन विचारलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक लगानी प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

“विश्वविद्यालय सरोकारवालासँग सहकार्य गरी क्षेत्रगत तथा जिल्लागत सम्भावना र समस्याको अध्ययन गर्न तयार छ । बदलिँदो समयअनुसारको व्यावहारिक शिक्षा र प्रविधिका माध्यमबाट कृषि, वन, पर्यटन, जलस्रोत, विपद् व्यवस्थापन र स्थानीय उद्यमका क्षेत्रमा अनुसन्धानमा आधारित परियोजना सञ्चालन गर्न सकिन्छ । आउनुस्, सहकार्य गरौँ”, उपकुलपति भट्टले भन्नुभयो ।

कैलाली बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा लोकबहादुर विष्टले ज्ञान, प्रविधि र सिजनात्मक क्षमताको महत्त्व बढ्दै गएकाले विद्यार्थी, अनुसन्धानकर्ता र उद्यमीले पनि विश्वव्यापी ज्ञान तथा बजारसँग जोडिने अवसर उपयोग गर्नुपर्ने बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयमा स्थापना गरिएको इन्क्युबेसन सेन्टरमार्फत नवउद्यमीलाई तालिम, व्यावसायिक योजना विकास, बीउ पुँजी व्यवस्थापन र व्यवसाय प्रवर्द्धनमा सहयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।

इन्क्युबेसन सेन्टरका संयोजक सहप्राध्यापक डा राजेन्द्रवीर चन्दले प्रदेशका स्थानीय सम्भावना, नवीन सोच, व्यावहारिक सीप र बजारका अवसर पहिचान गरी तिनलाई व्यावहारिक, दिगो तथा लगानीयोग्य उद्यममा रूपान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

यहाँ पहिलोपटक आयोजना गरिएको सम्मेलनबाट प्राप्त सिकाइका आधारमा आगामी दिनमा थप प्रभावकारी र योजनाबद्ध काम गरिने उहाँको भनाइ थियो ।

सम्मेलनको पहिलो दिन शुक्रबारदेखि शनिबारसम्म उद्यमशीलता विकास, व्यावसायिक अवसर पहिचान, बजारको आवश्यकता, व्यवसायको नमूना निर्माण, उत्पादन तथा सेवाको मूल्य निर्धारण, वित्तीय प्रक्षेपण र लगानीका लागि व्यावसायिक योजना, नवप्रवर्तन तथा उद्यमशीलताको सम्भावना, विश्वविद्यालयको भूमिका, निजी क्षेत्रको योगदान र उद्यमशीलतामार्फत प्रदेशको आर्थिक रूपान्तरणका विविध विषयमा छलफल भएका छन् ।

सम्मेलनको अन्तिम दिन आइतबार राष्ट्रिय स्टार्टअप नीति, उद्योग क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र नयाँ उद्यमलाई वित्तीय सहयोग उपलब्ध गराउने विषयमा छलफल हुने कार्यक्रम छ ।

विश्वविद्यालयका विद्यार्थी तथा युवा उद्यमीले आफ्ना व्यावसायिक योजनाको अन्तिम प्रस्तुतीकरण गर्ने, निर्णायकबाट मूल्याङ्कन हुने, संस्थागत प्रतिबद्धता व्यक्त गरिने तथा प्रारम्भिक लगानी सहयोगसम्बन्धी घोषणा र पुरस्कार वितरणपछि सम्मेलन समापन हुने इन्क्युबेसन सेन्टरका संयोजक डा चन्दले जानकारी दिनुभयो ।(रासस)

सम्बन्धित समाचार