नवकान्तिपुर संवाददाता
बाजुरा, १६ कार्तिक।

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइएको छ । कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहराको शव आज नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको हो ।
बडीमालिकामा भारी हिमपातपछि गत शुक्रबारदेखि सम्पर्कविहीन भएका बोहरा आइतबार दिउँसो त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार मृतक बोहराको शव सदरमुकाम ल्याई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।
बडीमालिका माताको दर्शनसँगै घुम्न गएका बोहरा सम्पर्कविहीन भएपछि आइतबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्यका लागि खटिएको थियो । चार हजार २०० मिटर उचाइमा अवस्थित बडीमालिकामा हिमपातपछि अत्यधिक चिसाको कारण लेक लागेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।
यसअघि हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो । भारी हिमपातका कारण घटनास्थलसम्म पुग्न कठिनाइ भएपछि हेलिकप्टरको सहयोगमा खोजी तथा उद्धार कार्य अघि बढाइएको हो ।
बडीमालिका क्षेत्र उच्च हिमाली भूभागमा पर्ने भएकाले यहाँ मौसममा एक्कासी परिवर्तन हुने र भारी हिमपात हुने जोखिम रहन्छ । विशेषगरी मौसम प्रतिकूल हुने समयमा हिमपात हुने भएकाले तीर्थयात्रा र भ्रमणमा जानेहरूलाई आवश्यक तयारी, मौसमको जानकारी र सुरक्षासम्बन्धी सावधानी अपनाउनुपर्ने जानकारहरू बताउँछन् ।(रासस)

