एनपिएल क्रिकेटमा विराटनगरको जित

नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगितामा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै जित हासिल गरेको छ ।

कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई दुई रनको झिनो अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । जितको लागि विराटनगरले दिएको १७५ रनको लक्ष्य पच्छाएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमा समेटियो ।

जनकपुरका लागि सैफ हसनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ७१ रनको योगदान दिए । उनले २ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी विशाल सुसलिङले ३० बलमा ४३ रन बनाए भने जेम्स निसमले १५ बलमा २७ रन जोडे ।

यता बलिङतर्फ विराटनगरका लागि आन्द्रे रसेलले ४ विकेट लिए भने एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रनको योगफल बनाएको थियो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए ।

उनले २ चौका र ५ छक्का प्रहार गरे । लोकेश बमले ४० बलमा ३ चौका र ३ चक्काको सहयोगमा ५० रन बनाए । शुभम रञ्जाने ५ बलमा ७ रनमा अविजित रहे । बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे । यस जितसँगै ४ खेल खेलेको विराटनगरले २ मा जित तथा २ मा हार बेहोर्दै ४ अङ्क बनाएको छ ।

त्यस्तै समान ४ खेल नै खेलेको जनकपुरको पनि समान २ मा जित तथा २ खेलमा पराजय भोगेको छ । जनकपुरको पनि समान ४ अङ्क नै छ । (रासस)

सम्बन्धित समाचार