नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कार्तिक।

यस वर्षको मनसुन अवधिमा मुलुकभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाहेक ती विपद्का घटनामा परी १४ जना बेपत्ता र २२७ जना घाइते भएका छन् ।
प्राधिकरणका प्रवक्ता राम केसीले त्यस्ता मनसुनजन्य विपद्बाट तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएको जानकारी दिनुभयो । यस वर्षको मनसुन ११८ दिनसम्म रहेको थियो ।
गत वर्षको मनसुन अवधिमा १४० जनाको मृत्यु भएको थियो भने ३० जना बेपत्ता र ३०० जना घाइते भएका थिए । उक्त अवधिमा पाँच हजार ९९५ परिवार प्रत्यक्ष प्रभावित भएका भएको प्राधिकरणबाट उपलब्ध तथ्याङकमा उल्लेख छ ।
प्रवक्ता केसीका अनुसार यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट ७७ वटै जिल्ला प्रभावित भए भने मानवीय क्षतिको आधारमा ४५ जिल्ला बढी प्रभावित भएका थिए ।
मनसुन अवधिमा यस बर्ष भोटेकोशी बाढी तथा असोज ७ गतेदेखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र डुवान प्रमुख विपद्का घटनाका रूपमा रहेका छन्। यसै बर्षको मनसुन अवधिमा बुढीगण्डकी बाढीबाट गोरखा जिल्ला समेत प्रभावित भयो ।
प्राधिकरणका अनुसार यस वर्षको मनसुनमा समग्रमा औसत वर्षा भएको थियो । तथापि, छोटो अवधिमा भएको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना भए ।(रासस)

