नवकान्तिपुर संवाददाता
कञ्चनपुर, १९ कार्तिक।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।
उहाँको नर्सरीमा फलफूलका बिरुवा पाइन्छ । यस्तै, घर सजावटका लागि प्रयोग हुने विभिन्न प्रजातिका बोटबिरुवा बिक्री गरेर उहाँले वार्षिक रु १५ लाख बराबरको आम्दानी गर्दै आउनुभएको छ ।
दश वर्षअघि रु ५० हजार लगानीमा नर्सरी स्थापना गरेर व्यवसाय थाल्नुभएका उहाँले अहिले वार्षिक रु ६० लाख बराबरको कारोबार गर्दै आउनुभएको छ ।
“नर्सरी स्थापना गर्नुअघि हाम्रो कुटानी पिसानीको मिल थियो त्यसमा कहिले बिजुली नहुने कहिले कामदार नपाइने समस्या थियो बैङ्कको ऋण थपिँदै गयो,” चन्दले भन्नुभयो, “त्यसपछि सजिलो उपायको खोजी गर्दै कृषि व्यवसायमा लाग्यौँ अहिले राम्रो अवस्थामा छौँ ।”
उहाँले वार्षिक रु एक लाख भाडामा डेढ बिघा जग्गा र आधा बिघा आफ्नै जग्गामा फलफूल तथा घर सजावटका बिरुवा उत्पादन गर्दै आएको जानकारी दिनुभयो ।
“भारतीय व्यापारी यहाँ आएर साइकलमा बिरुवा घुमाएर दैनिक रु १० हजारसम्म आम्दानी गरेर जान्थे,” उहाँले भन्नुभयो, “त्यसमा राम्रो आम्दानी देखेपछि हामीले पनि साइकलमा बोटबिरुवा लिएर बिक्री गर्न थाल्यौँ । महिनामा रु २० हजारसम्म आम्दानी हुन थाल्यो ।” त्यसपछि उहाँले नर्सरी स्थापना गरेर बिरुवा बिक्री गर्ने सोच बनाएर व्यवसाय विस्तार गर्दै गएको बताउनुभयो ।
उहाँले अहिले कैलाली, कञ्चनपुरलगायत जिल्लामा बिरुवा बिक्री गर्ने गरेका छन् । सानो पुँजीबाट सुरु गरेको व्यवसायलाई मेहनत र निरन्तरता दिन सके राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
“सवा दुई बिघा जग्गामा अहिले १५ हजार बिरुवा छन,” चन्दले भन्नुभयो, “यसबाट वार्षिक रु ६० लाखसम्मको कारोबार हुन्छ । सबै लागत घटाएर वर्षमा रु १५ लाखसम्म बचत हुन्छ ।”
उहाँले पछिल्लो समय घर, होटेल रेष्टुरेन्ट तथा पार्कका लागि बिरुवाको माग धेरै आउने गरेको बताउनुभयो । पछिल्लो समय आधुनिक तरिकारले घर सजावटका बिरुवा ग्राहकले खोज्न थालेपछि उनीहरूको चाहनाअनुसार बिरुवा उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ ।
“अहिले घर सजावट र होटेल रेष्टुरेन्टबाट माग आउने गरेको छ,” उहाँले भन्नुभयो, “अहिले नर्सरीमा ४५ प्रकारका २०० देखि रु १० हजारसम्मका बिरुवा उपलब्ध छन् ।”
उहाँले सरकारले तोकेको पारिश्रमिक दिएर दुईजना कर्मचारी राखेको बताउनुभयो । नर्सरीको आम्दानीबाट दुई कट्ठा जग्गा खरिद गर्नाका साथै नयाँ घर निमार्ण गरेको उहाँको भनाइ छ ।
“बजारको समस्या छैन अहिले नयाँ घर बनाउनेले बोट बिरुवा लगिहाल्छन्,” चन्दले भन्नुभयो, “आधुनिक सजावटका बोटबिरुवा उत्पादन गरिरहेका छौ त्यही अनुसारको माग आउने गरेको छ ।”
करिब ७० प्रतिशत बिरुवा आफैं उत्पादन गर्ने र अन्य केही मात्रै अन्यत्रबाट ल्याउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसपटक हामी चिनियाँ डिजाइनका गमला बनाएर बिक्री गर्ने तयारीमा छौ ।”
नर्सरी व्यवसायलाई थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले चन्दले प्रयोगशाला निर्माण गर्नुभएको छ । प्रयोगशालामार्फत बिरुवा उत्पादन तथा हुर्काउने आधुनिक प्रविधिको प्रयोग गर्ने उहाँको योजना छ ।
बिरुवाको गुणस्तर सुधार, उत्पादन वृद्धि र व्यावसायिक विस्तारका लागि आधुनिक प्रविधि अपनाउन थालेको उहाँले बताउनुभयो ।(रासस)
