नवकान्तिपुर संवाददाता
ललितपुर, २२ कार्तिक।

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ ।
तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, लेखक तथा सम्पादकको उपस्थिति थियो ।
डा ईश्वर थापा र इन्जिनियर राजन थापाले लेख्नुभएको उक्त पुस्तकमा सात जना सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा अन्य विज्ञले सहकार्य गर्नुभएको छ ।
पुस्तकमा बाढीको उत्पत्ति र प्रभाव, मानवीय क्षति, उद्धार तथा खोजीका अनुभव, प्रभावित समुदायको अवस्था र भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका उपाय समेटिएका छन् ।
पुस्तकको नाम ‘द सनसाइन फ्लड’ अर्थात् ‘आकाशमा बादल नहुँदै आएको बाढी’ नाम दिइएको छ । पुस्तकमा गत भदौ १० गते (अगस्ट २६) मा हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको घटनाक्रम प्रस्तुत गरिएको छ ।
सामान्यतया बाढी आउनुअघि देखिने वर्षा, बादल वा नदीको सतह बढ्ने सङ्केतबिनै आएको उक्त बाढीले रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीवनमा ठूलो क्षति पुर्याएको थियो ।
‘द डे द माउन्टेन फेल विदाउट अ क्लाउड इन द स्काई’ ( आकाशमा बादल नभएको बेला हिमाल अचानक ढलेको दिन) उपशीर्षक रहेको पुस्तकमा हिमपहिरो र चट्टान खस्दा कसरी बाढी उत्पन्न भयो ? भन्ने घटनालाई प्रत्यक्षदर्शीका अनुभव, पीडितका भनाइ, अभिलेख र वैज्ञानिक अध्ययनका आधारमा प्रस्तुत गरिएको छ ।
पुस्तकका अनुसार हिउँ र चट्टान खसेर ल्हेन्दे उपत्यकामा पुगेपछि केही मिनेटमै पानी, हिलो र ठूला ढुङ्गासहितको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदी क्षेत्रमा फैलिएको थियो । वर्षा र पूर्वचेतावनीबिनै आएको बाढीले स्थानीय बस्ती, विद्यालय, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याउनुका साथै जनजीवन प्रभावित बनाएको थियो ।
‘न्यारेटिभ नन-फिक्सन’ (कथात्मक गैर-आख्यान) विधामा तयार गरिएको पुस्तकमा विपद्का बेला उद्धारमा खटिएका व्यक्ति, खोजी तथा सहयोगमा जुटेका समुदाय र प्रभावित परिवारका अनुभव समेटिएका छन् ।
विपद्का बेला देखिएका चुनौती र आगामी दिनमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक परिवर्तनबारे पनि पुस्तकमा विश्लेषण गरिएको लेखक डा ईश्वरले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुस्तकमा नेपालले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेका राहत, पुन:स्थापना तथा सामुदायिक सहयोगका गतिविधि समेटिएका छन् ।
पीस विन्ड्स जापान र मर्सी मलेसियाको सहयोगमा संस्थाले प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, प्रभावित परिवारको आवश्यकता पहिचान र राहत वितरण गरेको विवरण पुस्तकमा छ ।
पुस्तकमा उल्लेख भएअनुसार संस्थाले विभिन्न कार्यक्रममार्फत एक हजार ४४८ परिवारलाई राहत तथा सहयोग उपलब्ध गराएको थियो । त्यस्तै, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई पनि सहयोग गरिएको थियो ।
राहत वितरणअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका-५ का ५०१ घरपरिवारलाई जाडोयाममा प्रयोग हुने विद्युतीय हिटर, इलेक्ट्रिक केतली र थर्मस वितरण गरिएको थियो ।
नुवाकोटको विदुर नगरपालिका-१ का १९५, वडा नं ७ का ५० र वडा नं १० का २५२ घरपरिवारलाई घरायसी तथा पुनर्निर्माणका लागि आवश्यक औजार उपलब्ध गराइएको पुस्तकमा उल्लेख छ ।
त्यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का ३५० घरपरिवारलाई इन्डक्सन चुल्होसहित भान्साका सामग्री र नुवाकोटको विदुर नगरपालिका-१० का १०० घरपरिवारलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण गरिएको थियो ।
स्वास्थ्य सेवा निरन्तर राख्न विदुर नगरपालिका-५ स्थित आयुर्वेदिक अस्पताल र वडा नं १० स्थित सहरी स्वास्थ्य केन्द्रलाई औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरिएको थियो ।
विदुर नगरपालिका-१० को वडा कार्यालयमा सौर्य ऊर्जा र इन्भटर प्रणाली जडान गरी वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको थियो । विदुर नगरपालिका-२, बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका ३०६ शिक्षक तथा विद्यार्थीलाई पनि सहयोग गरिएको विवरण पुस्तकमा समेटिएको छ ।
पुस्तकले राहत वितरणलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी प्रभावित परिवारको आवश्यकता पहिचान, स्थलगत अध्ययन, स्थानीय तहसँगको समन्वय, सामग्रीको अभिलेखीकरण, वितरणमा पारदर्शिता र समुदायको पुन:स्थापनालाई प्राथमिकता दिएको छ ।
विपद्पछिको पुनर्निर्माणसँगै भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका उपायलाई पनि पुस्तकले महत्व दिएको छ । नदीले बगाएर ल्याएको गेग्रान तथा ढुङ्गामाटोको पुन:प्रयोग, नदी किनारका भवनको सुरक्षा, भोटेकोशी-त्रिशूली करिडोरमा पूर्वचेतावनी प्रणालीको विकास र रसुवाको खाद्यसुरक्षालाई आगामी दिनका प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ ।
विशेषगरी बाढी प्रभावित क्षेत्रमा एउटा मात्र भवन सुरक्षित रहनुका कारण, नदीको बहाव तथा गेग्रान व्यवस्थापन र जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानीबारे पुस्तकमा चर्चा गरिएको छ ।
पुस्तकमा प्रभावित क्षेत्रका बासिन्दाका अनुभवलाई प्राथमिकता दिइएको छ । लेखकका अनुसार स्थलगत अध्ययन, प्रत्यक्ष अनुभव र घटनाक्रमको सङ्कलनबाट पुस्तक तयार पारिएको हो ।
वरिष्ठ भूगर्भविद् इन्जिनियर सन्मुखेश चन्द्र अमात्यले पुस्तकले विपद्को कथा र समुदायको सहनशीलतालाई अभिलेखीकरण गरेको बताउनुभयो । उहाँका अनुसार पुस्तकले बाढीबाट भएको विनाशको विवरण मात्र प्रस्तुत नगरी समुदाय, स्वयंसेवक, प्राविधिक जनशक्ति, स्थानीय सरकार तथा राष्ट्रिय र अन्तरराष्ट्रिय सहयोगी संस्थाबीचको सहकार्यले पुन:स्थापनामा पुर्याउनसक्ने योगदानलाई पनि उजागर गरेको छ ।
रसुवा र त्रिशूली उपत्यकाका बासिन्दालाई समर्पित पुस्तकले प्राकृतिक विपद्को इतिहास अभिलेखीकरण गर्नुका साथै जोखिम न्यूनीकरण, पूर्वतयारी र मानवीय सहायताका क्षेत्रमा काम गर्ने निकाय तथा सरोकारवालालाई महत्वपूर्ण सन्दर्भ सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा तरङ्ग नेपालका कार्यकारी निर्देशक अमितप्रसाद तिमल्सेनाले ‘पर्दापछाडिका कुरा’ शीर्षकमा प्रस्तुति दिँदै विपद्पछिको स्थलगत अध्ययन, मानवीय सहायता र प्रभावित समुदायसँगको अन्तरक्रियाले पुस्तक तयार पार्न सहयोग पुगेको अनुभव सुनाउनुभयो ।
बाढीको खबर प्राप्त हुनासाथ तरङ्ग नेपालले प्रभावित क्षेत्रका स्थानीय सम्पर्क व्यक्ति, जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा अन्य सरोकारवालासँग समन्वय सुरु गरेको थियो ।
उद्धार तथा खोजीमा प्रत्यक्ष संलग्न हुन कठिन परिस्थिति रहेकाले संस्थाले राहत तथा पुनर्लाभका गतिविधिमार्फत सहयोग गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
इन्जिनियरिङ, अनुसन्धान, सामाजिक सेवा र स्वयंसेवाका क्षेत्रमा कार्यरत जनशक्तिलाई एकीकृत गर्दै संस्थाले प्राविधिक ज्ञान, मानवीय सहायता तथा ज्ञान विकासमार्फत जोखिममा रहेका समुदायलाई सहयोग गर्दै आएको छ ।
छ भाग र ३१ अध्यायमा विभाजित पुस्तकमा बाढीअघिको भोटेकोशी नदी करिडोरको अवस्था, विपद्को दिनका घटनाक्रम, उद्धार तथा जीवनरक्षाका अनुभव, मानवीय क्षति र शोक, आर्थिक तथा वातावरणीय प्रभाव एवं भविष्यका लागि आवश्यक पाठ समेटिएका छन् ।
त्यसैगरी, हिमाली विपद्को जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणालीको सुदृढीकरण, बाढीबाट थुप्रिएको गेग्रानलाई पुनर्निर्माण सामग्रीका रूपमा उपयोग गर्ने सम्भावना, जलविद्युत् आयोजनाको सुरक्षा र जलवायुजन्य जोखिमका कारण रसुवाको खाद्य सुरक्षामा पर्नसक्ने प्रभावबारे अनुसन्धान तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गरिएको छ ।
प्रभावित समुदायका अनुभव र वैज्ञानिक तथा दस्तावेजीकृत तथ्यलाई एकैठाउँमा प्रस्तुत गर्नु पुस्तकको विशेषता रहेको छ । पुस्तकमा तथ्याङ्क तथा घटनासम्बन्धी विवरणका लागि आधिकारिक प्रतिवेदन, प्रकाशित अनुसन्धान र पत्रकारितामा आधारित सामग्री प्रयोग गरिएको छ । प्रमाणित तथ्य, व्यक्तिगत अनुभव, विश्लेषण र अझै स्पष्ट हुन नसकेका विषयबीच पनि भिन्नता कायम गरिएको लेखकहरूले जनाएका छन् ।
पुस्तकले माथिल्लो भोटेकोशी क्षेत्रमा पूर्वसूचना प्रणाली पुन:स्थापना तथा सुदृढीकरण, सीमापार सूचना आदानप्रदान, पुनर्निर्माणअघि जोखिम मूल्याङ्कन, जलविद्युत् पूर्वाधारको सुरक्षा र बेपत्ता व्यक्तिको पहिचान प्रक्रियालाई तीव्रता दिनुपर्ने सुझाव दिएको छ ।(रासस)
