सुन्डीखोलामा पुल निर्माण

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । रु एक करोड ७९ लाखको लागतमा सो पुल निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम/एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले उक्त क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएकाले पुल निर्माण गरिएको बताउनुभयो ।

पुल सञ्चालनमा आएपछि सवारी आवागमन सहज र सुरक्षित हुनुका साथै स्थानीय कृषि उपज बजारसम्म पुर्याउन तथा आर्थिक गतिविधि बढेको उहाँले बताउनुभयो ।

सत्र महिनाको अवधिमा पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख केशव पोखरेलले जानकारी दिनुभयो । पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाका साथै उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई सहज हुने तथा एम्बुलेन्सलगायतका आपतकालीन सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।(रासस)

सम्बन्धित समाचार