स्वरसम्राट नारायणगोपाल स्मृति विशेष सम्मान र पुरस्कार घोषणा

नारायणगोपाल सङ्गीत कोषले नृत्यकार भैरवबहादुर थापालाई विशेष सम्मानबाट सम्मानित गर्ने भएको छ । सम्मानको राशि रु ५५ हजार ५५५ रहेको छ ।

स्वरसम्राट नारायणगोपालको ३६औँ स्मृति दिवसका अवसरमा आगामी मङ्सिर १९ गते गरिने स्रष्टा सम्मान, पुरस्कार वितरण तथा साङ्गीतिक कार्यक्रममा नृत्यकार थापालाई नृत्य विधातर्फ विशेष सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।

कोषका अनुसार वाङ्मय र कलाका विभिन्न विधालाई समेट्दै नेपाली साङ्गीतिक क्षेत्रको समग्र योगदानको कदर गर्ने उद्देश्यले यस वर्ष नृत्य विधाका मूर्धन्य कलाकार थापालाई सम्मान गर्न लागिएको कोषका अध्यक्ष दीपक केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, यस वर्षको नारायणगोपाल सङ्गीत सम्मान गायनतर्फ प्रकाश श्रेष्ठ, सङ्गीततर्फ भूपेन्द्र रायमाझी र गीत रचनातर्फ प्रमोद ढुङ्गानालाई प्रदान गरिने कोषका अध्यक्ष केसीले जानकारी दिनुभयो । यी पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ । (रासस)

सम्बन्धित समाचार