नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कार्तिक।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध सहज जित निकालेको छ । पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको हो ।
जारी संस्करणमा पोखराको यो दोस्रो जित हो । पोखराले सात खेलमध्ये पाँच खेलमा भने पराजय व्यहोरेको थियो । आजको हारका बाबजुद काठमाण्डुले प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाण्डुको पारी १९ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर १६९ रनमै समेटियो । पोखराका लागि स्मित पटेलले ३४, राशिद खानले ३१, सोनु देवकोटाले २९, विल बोसिस्टोले २६ र जहानदाद खानले २४ रन बनाए ।
बलिङतर्फ पोखराका लागि दिनेश खरेलले ४, विपिन खत्रीले ३ तथा सनी बिक, युवराज साम्रा र रमेश मेन्डिसले समान एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो ।
पोखराका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट पारी खेले । भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन तथा साम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको पारी खेले । यस्तै, कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए ।
बलिङतर्फ काठमाण्डुका लागि करण केसीले दुई र जहानदाद खानले एक विकेट लिए । आजै भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको थियो ।(रासस)
