नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरिने बताउनुभएको छ ।
अखिल नेपाल किसान महासङ्घ, केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा पार्टी अगाडि बढ्ने बताउनुभयो ।
उहाँले एमाले मजबुत, देशभक्त, लोकतान्त्रिक तथा स्पष्ट दृष्टिकोण र सुदृढ सङ्गठन रहेको पार्टी भएको बताउनुभयो । पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले आगामी ‘दुई कार्यभार र १५ काम’ निर्धारण गरेको जानकारी गराउँदै अध्यक्ष ओलीले आन्दोलन र स्थानीय तह निर्वाचनका ती कार्यभार पूरा गर्ने तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा हामी जित्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्न नेताकार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेपालको किसान आन्दोलन राजनीतिक परिवर्तन सफल बनाउने जगका रूपमा रहेको र कयौँ किसान नेताहरूले अमूल्य योगदानका साथै सहादत प्राप्त गरेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो ।
किसान महासङ्घलाई विस्तार गर्ने बृहत् आधारहरू रहेको र त्यसका लागि सक्रियता आवश्यक रहेको बताउँदै उहाँले आफ्नो विगतको गौरवलाई सम्झेर त्यसलाई कायम गर्न विभिन्न क्षेत्रका किसानलाई महासङ्घमा आवद्ध गर्न आग्रह गर्नुभयो ।
अखिल नेपाल किसान महासङ्घका अध्यक्ष प्रेम दङ्गालले महासङ्घ ७३ जिल्ला, ५३९ पालिकाका एक हजार ३६५ वडामा क्रियाशील रहेको रहेको जानकारी गराउनुभयो । (रासस)
