नवकान्तिपुर संवाददाता
बाँके, ३ मंसिर।

बाँकेको राप्तीसोनारी गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई बुधबार जग्गाधनी पुर्जा वितरण गरिएको छ । राप्ती सोनारी गाउँपालिका–४, बैजापुरका १० घर परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
जिल्ला भूमि समस्या समाधान समिति बाँकेको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा जिल्लाको बैजापुरमा आयोजित कार्यक्रममा लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको पर्खाइमा रहेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।
सो अवसरमा बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीले वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेर काम अगाडि बढाएको बताउनुभयो ।
वर्तमान सरकारले आफ्नो कार्यकालमा सबै भूमिहीन तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन स्थानीय सरकारले सङ्घीय सरकारलाई सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाँकेका आठ वटै स्थानीय तहमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरण गरिएको बताउनुभयो ।
राप्तीसोनारी गाउँपालिका–४ का वडाध्यक्ष मीनराज खड्काका अनुसार जग्गाधनीपुर्जा प्राप्त गर्ने सबै स्थानीय हुन् । जग्गाधनी पुर्जा प्राप्त भएपछि वर्षौंदेखि भूमिहीन अवस्थामा रहेका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
यसले उहाँहरूलाई सुरक्षित बसोबासको आधार तयार गर्नाका साथै राज्यबाट प्राप्त हुने विभिन्न सेवा तथा सुविधामा पहुँच स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।(रासस)

