मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको नेपाल-जापान सांस्कृतिक महोत्सवमा दुई देशको कला, संस्कृतिको प्रदर्शनी गरिएको छ ।

मध्यपुरथिमिको चपाचोस्थित पोटरी स्क्वायरमा आयोजना गरेको महोत्सवको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल जापानमैत्री सङ्घ जापानका अध्यक्ष हिरोमी इस्हिओकाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नेपाल र जापानका कला, संस्कृति, परम्परागत सङ्गीत, नृत्य तथा मौलिक पहिचान झल्काउने विविध सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई रौनकता थपेको बताउनुभयो ।

गौरवमय ७०औँ वर्षगाँठको ऐतिहासिक कार्यक्रम महोत्सवमात्रै नभई दुई देशबीच सात दशकदेखि रहँदै आएको मित्रता, विश्वास, पारस्परिक सम्बन्ध, सहयोग, सम्मान र आत्मिय सम्बन्धको उत्सवसमेत रहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले दुई देशबीचको सम्बन्धको निरन्तरता आपसी सद्भाद, सहकार्य, साँझा भविष्यप्रतिको प्रतिबद्धता पनि हो भन्दै नेपाल र जापान भौगालिक रूपमा टाढा भए पनि साँस्कृतिक सभ्यता, मानवीय संवेदना, अटुट विश्वास, परम्परा र आत्मियताबाट निकै नजिक रहेको बताउनुभयो ।

यही आत्मियताले दुई देशको जनतालाई नजिक ल्याएको भन्दै उहाँले यस प्रकारको कार्यक्रमले दुई देशबीचको कला, संस्कृति, मौलिक परम्परा, रहनसहन र खापपानलाई पनि जोडेको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “मध्यपुरथिमि आफँैमा जीवन्त कला, संस्कृति, मौलिक सभ्यता बोकेको, अनुपम सङ्गम हो । यहाँका विभिन्न जात्रा, पर्व, परम्परागत नाच, बाजा, जागा, मूर्तिकला, काष्टकला, माटोका भाँडालगायत जीवन्त परम्परा, ७५० भन्दा बढी मूर्त, अमूर्त सम्पदाहरूले सजिएको, प्रत्येक गल्ली, मन्दिर, जात्रा, पर्वमा पुस्तौँदेखिको ज्यान जीवित छ ।”

यहाँका मौलिक पहिचनलाई संरक्षणसँगै विश्वमाझ चिनाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गरी पर्यटन प्रवर्द्धन र विकास गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको भन्दै उहाँले जापानको कला, संस्कृति, मौलिक परम्पर र आधुनिक विकासमा हासिल गरेको सफलतालगायतबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल जापानमैत्री सङ्घ जापानका अध्यक्ष हिरोमीले गौतम बुद्धको देश नेपालबाट बुद्धले देखाएको बाटो हिँडेर जापानले विकासमा फड्को मारेको बताउँदै बुद्धको मार्गको अनुशरणबाट अरु देश पनि विकासमा अगाडि लम्किएको धारणा राख्नुभयो ।

उहाँले नेपालको मित्रवत व्यवहारले आफूलाई पनि नेपाली बन्न रहर जागेको बताउँदै नेपाल र जापानबीचको मित्रता युगौँयुगसम्म रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा २१ वटा कक्षमा हस्तकला, काष्ठकला, मूर्तिकलालगायत विभिन्न पेसा एवं संस्कृति, नेपाल-जापानीज मुद्रा, सिक्का र नोटहरू प्रदर्शनीमा राखिएको छ ।

नगरपालिकाको तर्फबाट दाफा भजन, बाँसुरी बाजा, महाकाली नाच, धिमेबाजा, विभिन्न मौलिक संस्कृति देखिने नाच तथा जापानको तर्फबाट विभिन्न सांस्कृतिक नाच प्रदर्शन गरिएको थियो । महोत्सव आज रातिसम्म सञ्चालन हुनेछ ।(रासस)

सम्बन्धित समाचार