जर्ज मन्सेको शतकमा सुदूरपश्चिम रोयल्सले जित्यो एनपिएल-३ को उपाधि

जर्ज मन्सेको आक्रामक शतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि १० विकेटको शानदार जित निकालेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पच्छाएको सुदुरपश्चिमले १३ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितका नायक बनेका मन्सेले अविजित १२५ रनको विस्फोटक इनिङ्स खेले । उनले मात्र ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १२५ रनको योगदान दिएका हुन् । उनको ब्याटिङले लुम्बिनीका बलरलाई सुरुदेखि नै दबाबमा राखेको थियो ।

मन्सेलाई साथ दिएका विनोद भण्डारीले पनि अविजित ३० रन बनाए । उनले २७ बलमा ३ चौका प्रहार गर्दै ३० रन जोेडेका हुन । दुवै ब्याटरबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भएको थियो ।

मन्सेले २८ बलमा अर्धशतक पूरा गरेका थिए भने ४९ बलमै शतक प्रहार गर्दै आफ्नो आक्रामक लय देखाए । सुदूरपश्चिमले पावरप्लेमा मात्रै ६० रन जोडेको थियो । त्यसपछि पनि लुम्बिनीका बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाए । उनले ३१ बलमा ३ छक्का प्रहार गरे । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन जोड्दा निरोशन डिक्वेलाले १७ बलमा २८ रन बनाए । अलि शेखले १२ बलमा २४ रन जोड्दा डी’आर्सी शर्टले १८ बलमा २१ रनको योगदान दिए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले २५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट हात पार । विभिन्न आठ टोली सहभागी यस प्रतियोगितामा काठमाडौँ गोर्खाज सात खेलमा चार जित र तीन हारसहित आठ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । यता चितवन राइनोज तीन जित, तीन हार र एक खेलमा बराबरीसहित चौथो स्थानमा रह्यो । चितवनले सात अङ्क जोडेको थियो ।

त्यसैगरी विराटनगर किङ्स पाँचौँ र कर्णाली याक्स छैटौँ स्थानमा रहे । दुवै टोलीले समान सात खेलबाट तीन जित र चार हारसहित समान छ अङ्क जोडका थिए । नेट रनरेटका आधारमा विराटनगरले कर्णालीलाई पछि पारेको हो । पोखरा एभेन्जर्स दुई जित र पाँच हारसहित चार अङ्क जोडेर सातौँ स्थानमा रह्यो ।

त्यस्तै, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स पनि दुई जित र पाँच हारसहित समान चार अङ्क जोड्दै अन्तिम स्थानमा सीमित भयो । नेट रनरेटमा भने पोखरा जनकपुरभन्दा अगाडि रह्यो ।(रासस)

सम्बन्धित समाचार