
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का वार्तामा अपेक्षित सहमति जुट्न नसक्दा सम्मेलन निष्कर्षविहीन बनेको छ । टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु भएको सम्मेलन निर्धारित समयभन्दा दुई दिन ढिलो गरी नोभेम्बर २२ को राति सम्पन्न भएको हो ।
यद्यपि नेपालले पर्वतीय मुद्दालाई अन्तरराष्ट्रिय जलवायु वार्ताको छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न गरेको पहलले आगामी दिनमा यसलाई संस्थागत मान्यता दिलाउने बाटो भने खुला गरेको छ ।
सम्मेलनको अन्तिम चरणमा समग्र निर्णयमा सहमति जुट्न नसक्दा नेपालको पर्वतीय मुद्दासम्बन्धी प्रस्ताव पनि पारित हुन सकेन । तर, विभिन्न देशबाट प्रस्तुत प्रस्तावमध्ये नेपालको प्रस्तावले प्राथमिकताका साथ छलफलमा प्रवेश पाउनु महत्त्वपूर्ण उपलब्धि भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले बताउनुभएको छ ।
कोप–३१ को समग्र मूल्यांकनका बारेमा रासससँग कुरा गर्दै उहाँले भोटेकोशी विपद्को पीडालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै नेपालले पहिलोपटक पर्वतीय मुद्दालाई छुट्टै एजेन्डाका रूपमा अघि बढाउन सरकारका तर्फबाट लिखित प्रस्ताव पेस गरेको जानकारी दिनुभयो ।
“नेपालको इतिहासमा सरकारले पर्वतीय मुद्दालाई छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न लिखित प्रस्ताव पेस गरेको यो पहिलोपटक हो”, उहाँले भन्नुभयो, “विभिन्न देशबाट आएका करिब सातवटा प्रस्तावमध्ये कुनै पनि प्रस्ताव हुबहु स्वीकार भएनन् । तर, नेपालको प्रस्तावलाई उच्च प्राथमिकताका साथ छलफलमा लैजान हामी सफल भयौँ ।”
नेपालले सुरुमा ‘पर्वतीय क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको प्रभाव’ सम्बन्धी विषयलाई छुट्टै एजेन्डाका रूपमा अघि सारेको थियो । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी) को सचिवालयको सहयोगमा प्रस्तावको विषयवस्तुलाई थप स्पष्ट र सान्दर्भिक बनाउँदै ‘पर्वतीय पारिस्थितिक प्रणालीमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिसम्बन्धी विषयहरू’ नाम दिइएको उहाँले बताउनुभयो ।
सम्मेलनमा किर्गिस्तानले पर्वतीय विषयमा एउटा संवाद आयोजना गर्ने प्रस्ताव गरेको थियो । नेपालले आफ्नो प्रस्तावले किर्गिस्तानको चासोसमेत समेट्ने भन्दै संयुक्त रूपमा अघि बढ्न आग्रह गरेपछि नेपाल, भुटान र कीर्गिस्तानले नेपालको प्रस्तावका आधारमा छलफल अघि बढाएका थिए ।
सहसचिव डा ढकालका अनुसार पर्वतीय मुद्दाअन्तर्गत अनुसन्धान, पूर्वसूचना प्रणाली, दुई वटा संवाद र उच्चस्तरीय राजनीतिक संवाद गरी चार विषयलाई अघि बढाउन नेपालले प्रस्ताव गरेको थियो ।
दुई वटा संवाद आयोजना गर्ने विषयमा सुरुमै सहमति बनेको थियो भने अनुसन्धान तथा पूर्वसूचना प्रणालीसम्बन्धी विषय पनि छलफलमा समेटिएका थिए ।
नेपालले प्रस्तुत गरेको प्रस्तावका केही अंश प्रारम्भिक चरणमै स्वीकार भएका थिए । पर्वतीय कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने तथा विभिन्न देशका प्रस्तावमा रहेका साझा विषयलाई विद्यमान एजेन्डासँग जोडेर समेट्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।
“अन्तिम चरणमा सबै राष्ट्रबीच सहमति जुटाउने प्रयास गरेका थियौँ । तर, सम्मेलनको समग्र निर्णयमा सहमति हुन नसकेपछि हाम्रो निर्णय पनि पारित हुन सकेन”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार अन्तिम निर्णयमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिलाई सीमित गर्ने तथा जीवाश्म इन्धनको उत्पादन, बिक्री वितरण र प्रयोगसँग जोडिएका विषयमा मतभेद देखिएको थियो ।
विशेषगरी जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने मार्ग र तापक्रम वृद्धिलाई सीमित गर्ने विषय निर्णयको मस्यौदामा समेटिन नसकेको भन्दै युरोपेली सङ्घले असहमति जनाएको थियो ।
त्यसपछि सम्मेलनको समग्र निर्णय प्रक्रिया प्रभावित हुँदा नेपालको पर्वतीय मुद्दासम्बन्धी निर्णय पनि अन्तिम समयमा पारित हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो ।
“नेपालको प्रस्ताव अस्वीकृत हुनुको कारण हाम्रो एजेन्डा थिएन । सम्मेलनमा अन्य जटिल विषयमा सहमति हुन नसक्दा सबै निर्णय प्रभावित भएका हुन्”, उहाँले भन्नुभयो ।
फलदायी बन्यो नेपाल प्याभिलियन
कोप–३१ मा नेपालले दोस्रोपटक राष्ट्रिय प्याभिलियन स्थापना गरेको थियो । प्याभिलियनमा ४७ भन्दा बढी कार्यक्रम आयोजना गरिएका थिए भने २५० भन्दा बढी वक्ताले आफ्ना धारणा राखेका थिए ।
आदिवासी जनजाति, निजी क्षेत्र, नागरिक समाजलगायत विभिन्न क्षेत्रको सहभागिता रहेको प्याभिलियनलाई उहाँले नेपालको सफल पक्षका रूपमा उल्लेख गर्नुभयो ।
“अल्पविकसित राष्ट्रहरूको समूहका प्याभिलियनमध्ये नेपालको प्याभिलियन निकै सक्रिय र धेरै सहभागीले अवलोकन गरेकोमध्ये एक थियो । यसको गुणस्तरका विषयमा पनि प्रशंसा भएको छ”, उहाँले भन्नुभयो ।
वार्ताका लागि यसपटक राजनीतिक तथा संस्थागत तहबाट राम्रो नेतृत्व र प्रतिनिधित्व भए पनि वार्ताकारको विषयगत ज्ञान, भाषिक क्षमता, तयारी र अन्तरव्यक्तिगत सीप थप अभिवृद्धि गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
जलवायु परिवर्तनबाट नेपाल मात्रै प्रभावित भएको दृष्टिकोण प्रस्तुत गर्नुभन्दा अन्य देशले भोगिरहेका समस्यालाई समेत बुझेर साझा हितका विषय पहिचान गर्न सक्ने क्षमता वार्ताकारमा हुनुपर्ने उहाँको भनाइ छ ।
पर्वतीय क्षेत्रका समस्या उठाउँदा समुद्री क्षेत्रका चुनौतीलाई पनि समेट्ने, विकसित र विकासशील देशबीच सन्तुलन कायम गर्ने तथा क्षेत्रीय र अन्तरराष्ट्रिय तहमा प्रभावकारी संवाद गर्न सक्ने क्षमता विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले यसपटक गरेको मेहनतले पर्वतीय एजेन्डा स्थापित गर्ने बाटो बन्द भएको छैन् भन्ने आत्मविश्वास दिएको छ । राम्रो तयारीका साथ अघि बढ्न सके आगामी दिनमा यसलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा स्थापित गर्न सकिन्छ ।”
सहमति जुट्न नसक्नु निराशाजनक
यसैबीच, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ मा अध्यक्षताद्वारा प्रस्तुत निर्णयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताउनुभएको छ ।
कोप–३१ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेका बेला अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको युएनएफसिसिसीकोे सचिवालयले जनाएको छ ।
उहाँले जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा प्रभाव गम्भीर बन्दै गएको, जीवाश्म इन्धनको लागतले अर्थतन्त्रमा मुद्रास्फीति बढाइरहेको र विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम नजिकिँदै गएको उल्लेख गर्नुभएको थियो ।
“विश्वले यस्तो अवस्थाको पुनरावृत्ति धान्न सक्दैन । हाम्रो प्रक्रिया, नियमावली र स्थापित नजिरहरू सबै देशलाई एकै ठाउँमा ल्याउनका लागि बनाइएका हुन्”, उहाँले भन्नुभयो ।
कोप प्रक्रिया १९४ पक्ष राष्ट्रहरूको साझा भएकाले सहमतिका लागि सबै पक्षका विचार पारदर्शी रूपमा सुन्ने र विगतका उपलब्धिलाई आधार बनाएर अघि बढ्ने पद्धति आवश्यक रहेको उहाँले बताउनुभयो ।
जलवायु वार्ताको प्रक्रियालाई सुधार, आधुनिकीकरण र पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विश्व अहिले प्रतिबद्धता जनाउने चरणबाट कार्यान्वयनको युगमा प्रवेश गरिसकेको बताउनुभयो। बदलिँदो परिस्थितिअनुसार अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रक्रियालाई पनि विकसित गर्नुपर्ने उहाँको भनाइ थियो ।
कोप–३१ अन्तर्गत औपचारिक वार्तामा अपेक्षित सहमति कायम हुन नसके पनि कार्यसूची (एक्सन एजेन्डा) अन्तर्गत भने महत्त्वपूर्ण प्रगति भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यकारी सचिव स्टिलले विगतमा पनि जलवायु वार्ता प्रक्रियाले विभिन्न अवरोध र असफलता सामना गरे पनि पुनः सशक्त रूपमा अघि बढेको स्मरण गराउँदै यसपटक पनि त्यस्तै हुनुपर्ने बताउनुभयो ।
आगामी कोप–३२ लाई महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै उहाँले दोस्रो विश्वव्यापी समीक्षा (ग्लोबल स्टकटक–२) ले पहिलो समीक्षाका उपलब्धिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।(रासस)

