सभामुख अर्यालद्वारा बूढीगण्डकी जलविद्युत कम्पनीको आवास भवन र पुलको शिलान्यास

बूढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको कार्यालय, आवास भवन एवं पक्की पुलको सभामुख डिपी अर्यालले शिलान्यास गर्नुभएको छ ।

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा निर्माण हुन लागेको भवन तथा सिउरेनीटार र धादिङको कल्लेरी जोड्ने बूढीगण्डकी नदीमाथिको पक्की पुलको बुधबार एक समारोहका बीच शिलान्यास भएको हो ।

शिलन्यास कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, धादिङ क्षेत्र नं १ कि सांसद आशिका तामाङ, स्थानीय सरोकारवाला निकायलगायतको उपस्थिति रहेको थियो ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र पुलको कूल लागत रु ३७ करोड २८ लाख ५८ हजार ५३३ रहेको कम्पनीले जनाएको छ । सो भवन निर्माणका लागि एमएस विष्ट सिन्धुली जेभीले ठेक्का सम्झौता गरेको छ ।

यही असोज ३१ गते निर्माण कम्पनी र बूढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडबीच ठेक्का सम्झौँता भएको हो । २०८५ जेठ १७ गतेभित्र कम्पनीको कार्यालय, आवास भवन र पुल निर्माणको काम सम्पन्न हुने गरी सम्झौता भएको कम्पनीले जनाएको छ ।

शिलान्यास भएसँगै राष्ट्रिय गौरवको १२ सय मेगावट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य पूर्वतयारीअन्तर्गत कार्यालय तथा कर्मचारी आवास भवन र पुल निर्माणको काम औपचारिक रुपमा अघि बढेको छ ।

क्याम्प क्षेत्रभित्र आयोजनाको प्रशासनिक कार्यालय, कर्मचारी आवास गृह, प्रवेशद्वारलगायत आधुनिक पूर्वाधार निर्माण गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाको भनाइ छ ।

मुख्य बाँध र विद्युत्गृह निर्माण सुरु गर्नुअघि आवश्यक प्रशासनिक तथा प्राविधिक जनशक्तिलाई कार्यस्थलमा नै व्यवस्थापन गर्न क्याप निर्माणको काम सुरु गरेको उहाँको भनाइ छ । (रासस)

सम्बन्धित समाचार