जनजीविकाका सवालमा ध्यान दिन कांग्रेसको आग्रह

नेपाली कांग्रेसले अर्थतन्त्र र जनजीविकाका सवालमा सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिका निर्णयहरू सार्वजनिक गर्न शनिबार पार्टीको केन्द्रीय कार्यालय आयोजित पत्रकार सम्मेलन महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको अवस्था, बढ्दो महँगी, कमजोर निजी क्षेत्रको आत्मविश्वास र आमनागरिकको जनजीविकाका समस्याप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

“आम नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा प्रभावित भएको तथा साना उद्यमी र व्यवसायीलाई व्यवसाय सञ्चालन र बैंकको ऋण भुक्तानीमा कठिनाइ भइरहेको अवस्था छ, बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध भए पनि लगानी बढ्न नसकेको, खराब कर्जाको चिन्ता बढेको, बजार चलायमान हुन नसकेको र निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको विषयलाई कांग्रेसले गम्भीरतापूर्वक उठाएको छ”, उहाँले भन्नुभयो ।

कांग्रेसले सहकारी पीडित, किसान, श्रमिक, वैदेशिक रोजगारीमा जाने युवा तथा उद्यमीका समस्या समाधान हुन नसकेको र सरकारी बजेटको प्रभावकारी कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको कांग्रेसको निष्कर्ष छ ।

कांग्रेसले अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गर्न, समयबद्ध आर्थिक कार्ययोजना ल्याउन, पुँजीगत खर्च बढाउन, महँगी नियन्त्रण गर्न तथा निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न माग गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति र विकास सहयोगलाई सकारात्मक रूपमा लिएको कांग्रेसले जनाएको छ । कांग्रेसले भ्रमणका सहमति कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नसमेत माग गरेको छ ।

भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायतका बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनःनिर्माणलाई तीव्रता दिन र भूमिहीन, दलित तथा सुकुमवासीको समस्या समाधान गर्दा मानवीय संवेदनशीलता र वैकल्पिक आवासको व्यवस्था सुनिश्चित गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीको झण्डा र चुनाव चिह्न अनधिकृत प्रयोग नगर्न आग्रह

बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्नको अनधिकृत प्रयोग नगर्न आग्रह गरेको छ । महामन्त्री पौडेलका अनुसार पार्टी केन्द्रीय समितिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ ।

साथै, सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ पारित गर्नुका साथै किसान र उखु किसानका समस्या समाधान गर्नुपर्ने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको जानकारी दिइएको छ ।

अर्का महामन्त्री डिला पन्त सङ्ग्रौलाले पार्टीको वैधानिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गर्दै पार्टीभित्र देखिएको असन्तुष्टि राजनीतिक संवादमार्फत समाधान गर्ने बताउनुभयो । (रासस)

सम्बन्धित समाचार