नवकान्तिपुर संवाददाता
नारायणगढ (चितवन), १३ मंसिर।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता र योगदानलाई कदर गर्दै राजनीतिक तथा राष्ट्रिय जिम्मेवारीमा प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
नेपाल शिक्षक सङ्गठनको दशौँ एकता जिल्ला अधिवेशनको आइतबार चितवनमा उद्घाटन गर्दै उहाँले शिक्षकको ज्ञान, अनुभव र क्षमतालाई राज्यले उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले योग्य र इमानदार शिक्षकलाई निर्वाचन, राजनीतिक नियुक्ति तथा राष्ट्रिय जिम्मेवारीमा अवसर दिनुपर्ने धारणा राख्नुभयो ।
आफ्नो शिक्षण जीवन चितवनबाट सुरु भएको स्मरण गर्दै संयोजक दाहालले नवलपरासीको त्रिभुवनटार र गोरखाको आरुघाटमा अध्यापन गरेको बताउनुभयो । आरुघाटमा अध्यापनका क्रममा जिल्लाभरिकै उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएपछि आफ्नो राजनीतिक विचार र परिचय स्थापित गर्न सहयोग पुगेको उहाँको भनाइ थियो ।
शिक्षक जीवनका अनुभवले शिक्षा क्षेत्रका समस्या, शिक्षकको जिम्मेवारी र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको भूमिका बुझ्न सहयोग पुगेको उहाँले बताउनुभयो । यही अनुभवका आधारमा प्रधानमन्त्रीका रूपमा तीनवटै कार्यकालमा शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।
शिक्षक, प्राध्यापक तथा कर्मचारीको ज्ञान, अनुभव, इमानदारिता र क्षमतालाई देशको विकास तथा नीतिनिर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले जनतामाझ लोकप्रिय र इमानदार शिक्षकलाई निर्वाचन तथा अन्य राजनीतिक गतिविधिमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
“आफ्नो इमानदारिता, निष्ठा र सक्रियताका कारण जनतामाझ लोकप्रिय भएका शिक्षक साथीलाई निर्वाचन तथा अन्य क्रियाकलापमा प्राथमिकता दिनुपर्छ भनेर मैले सबैतिर भन्दै आएको छु”, उहाँले भन्नुभयो ।
उहाँले शिक्षकलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय भूमिकामा अवसर दिनुपर्ने उल्लेख गर्दै चितवनका वरिष्ठ शिक्षकलाई राष्ट्रिय तथा राजनीतिक जिम्मेवारी लिन तयार रहन आग्रह गर्नुभयो । शिक्षकको अनुभव र क्षमताले देशको नेतृत्व तथा नीतिनिर्माणमा महत्वपूर्ण योगदान पु¥याउनसक्ने उहाँको विश्वास थियो ।
शिक्षकलाई आफ्नो अनुभव र क्षमताको सदुपयोग गर्दै सामाजिक तथा राष्ट्रिय भूमिकामा अघि बढ्न आग्रह गर्दै उहाँले त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)

