काठमाडौं, २९ जेठ । नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले संयुक्त रुपमा गुठी सम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक शुरु हुने बित्तिकै उनीहरुले विधेयक फिर्ता लिन माग गर्दै काठमाडौँका गुठीयारले आन्दोलन शुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गरेका हुन् । काङ्ग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न ध्यानाकर्षण गराए ।
सभामुख कृष्णबहादुर महरासित समय लिई उनले प्रस्तावित विधेयकमा पुस्तौंपुस्तादेखि सञ्चालित निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गरी प्राधिकरण सञ्चालन गर्न खोज्नु आपतिजनक रहेको बताए । उनले भने, “विधेयक सरोकारवाला निकायसँगको छलफल बिना किन ल्याउनु प¥यो ? यसबाट दुई हजारभन्दा गुठी प्रभावित हुन्छन् । विधेयक संविधान विपरीत छ । निजी सम्पत्ति राख्न पाउने अधिकारलाई घुमाउरो पाराले आक्रमण गर्न खोजियो । धार्मिक स्वतन्त्रता विपरीत भयो । म विधेयक फिर्ता लिन आग्रह गरेको छ ।”
राष्ट्रिय जनता पार्टीका सांसद अनिलकुमार झाले लोकसेवा आयोगले हालै प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापन फिर्ता लिन, विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे ।
उनले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन आग्रह गर्दै धर्म संस्कृति रक्षा गर्न गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । रासस